

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले शुक्रबार पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको जानकारी दिएका हुन्।
‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ उनले लेखेका छन्, ‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।’
यसअघि प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको थियो। नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएन खबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
यस्तै, नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकका प्रहरी पत्रिकाको कार्यालयमै पुगेका थिए। मैनालीलाई नलिई नफर्किने अडानसहित प्रहरी टोली दुई घण्टाभन्दा बढी समय कार्यालयमा बसेको थियो। शुक्रबार साँझ नयाँ पत्रिकाको कार्यालयबाट प्रहरीले पत्रकार मैनाली र सम्पादक खगेन्द्र पन्तलाई शनिबार साइबर ब्युरोमा उपस्थित हुन निर्देशन दिँदै फर्किएको थियो।