यसरी उत्रिएका थिए कम्युनिष्ट अधिनायकविरुद्ध लाखौं जनता सडकमा (भिडियोसहित)

यसरी उत्रिएका थिए कम्युनिष्ट अधिनायकविरुद्ध लाखौं जनता सडकमा (भिडियोसहित)

न्युयोर्क, २१ जेठ । जुन ५, १९८९ । बेइजिङको तियानमेन स्क्वायरमा नरसंहार भएको भोलिपल्ट । दुई ठाउँमा सुन्निएको प्रस्टै देखिने गर्धन लिएर जोनाथन जान बेइजिङ विमानस्थलमा आइपुगे। राजधानीबाहिर जान चाहने थकित अनुहार लिएर उभिइरहेका युवाहरुको लाइनमा उभिए र पकेटमा हात हालेर क्यामराको रिललाई हातले चलाउन थाले। त्यो रिल चिनिया सैनिकले फुटाइदिएको क्यामराबाट बल्ल–तल्ल बचाएका थिए । यो कुरा नजिकै उभिइरहेका पत्रकारले थाहा पाए। रिल एक्स्पोज हुनसक्छ भनेर सचेत गराए। चान अध्यागमन अधिकारीअगाडि पुगे र उनीहरुको प्रश्नको प्रतिक्षा गर्न थाले।

‘तिमी स्क्वायर (तियानमेन) मा थियौ,’ अध्यागमन अधिकारीले सोधे।

‘हो, म थिएँ,’ अब पक्राउ परिने भइयो भन्नेमा आश्वस्त हुँदै चानले भने।

तर, ती अधिकारी उनीसामु झुके र बिस्तारै भने, ‘त्यसो हो भने जाउ विश्वलाई भन ।’

२५ वर्षमा चान, लाम र लीले त्यस्तै गर्ने प्रयास गरिरहेका छन्। हङकङको विद्यार्थी आन्दोलनको अग्रमोर्चामा लडेका यी विद्यार्थीहरुले बेइजिङको तियानमेन स्क्वायरमा भएको आन्दोलनमा प्रमुख भूमिका निर्वाह गरेका थिए। उनीहरुले त्यतिबेला आर्थिक सहयोग संकलनका साथै आन्दोलनकारीका लागि सामान आपूर्ति तथा सूचना आदानप्रदानको भूमिका खेलेका थिए ।

उनीहरु तियानमेन नरसंहारको केही दिनअघि मे महिनामा बेइजिङ आइपुगेका थिए। उनीहरुको उद्देश्य थियो खुल्ला, समृद्ध र प्रतिनिधिमूलक चीन निर्माण। १० दिनपछि फर्कँँदा साथीहरुका रगतैरगत भएको कपडा लगाएका थिए र घाइते र मृत्युवरण गरेका साथीहरुका तस्बिर आँखामा नाचिरहेका थिए।

उनीहरु ३ दशकदेखि क्रमशः बिर्सिइदै गइरहेको तियानमेन स्क्वायरको वास्तविकता र मानवीयताको अध्याँँरो पक्षविरुद्ध लडिरहेका छन्। त्यही इतिहासलाई चीनको कम्युनिष्ट सरकारले मेट्ने प्रयास गरिरहेको छ र उक्त घटना आफ्नो सही कदमका रुपमा विश्वसामु राखिरहेको छ।

‘हरेक वर्ष म आफैंलाई सम्झाइरहेको छु कि मेरो काम के हो भनेर,’ लीले टाइम पत्रिकासँग भने, ‘मलाई तियानमेन स्क्वायरका जनताले उद्दार गरेका थिए, त्यसैले मप्रति उनीहरुको अपेक्षा छ।’

‘हामी आवाज उठाउँदैनौं भने कसले गर्ने ?’

१९८९ को वसन्तकालिन महिना । हजारौं विद्यार्थी सडकमा उत्रिए, उनीहरुको माग थियो– सन् १९७० को अन्त्यतिर विश्वसामु खुला हुँदा सरकारले प्रतिबद्धता जनाएको सुधारको काम पूरा गर्नुपर्ने। आन्दोलनलाई हङकङ विद्यार्थी महासंघले पहिलोपटक सघायो । कयौं सातासम्म सोही समूहले आर्थिक सहयोग र चन्दा संकलन गर्यो । यही समूहले मेअन्त्यतिर तियानमेन स्क्वायरमा ६ लाखभन्दा बढी मानिस भेला पार्न सहयोग गर्यो।

‘आन्दोलनलाई सहयोग गर्न हामी चाहन्थ्यौं,’ चानले भने । १९८९ मा उनी हङकङ विद्यार्थी संगठनको दोस्रो वरियतामा थिए । यो समूहले आफ्नो टोली बेइजिङ पठाएर त्यहाँको स्थितिका बारेमा सूचना संकलन गर्न थाल्यो । मे २५का दिन चान ल्याम र ली २० अन्य विद्यार्थीसहित बेइजिङका लागि उडे । उनीहरुले प्रदर्शनकारीलाई ३ सय टेन्ट र लाखौं डलर चन्दासहयोग गरे।
कम्युनिष्ट पार्टीमा सुधारका पक्षमा उभिएका हु याओबाङको निधनपछि १५अप्रिलका दिनदेखि प्रदर्शन सुरु भयो । हजारौं बुद्धिजीवी र विद्यार्थी सडकमा उत्रिए। २६ अप्रिलका दिन सरकारी अखबार पिपल्स डेलीले आन्दोलन योजनाबद्ध षडयन्त्र भन्दै सम्पादकीय लेख्यो ।

मे महिनामा दर्जनौं विद्यार्थी सरकारी अधिकारीसँग वार्ताको माग गर्दै भोक हडतालमा बसे । ३० डिग्रीको गर्मीमा बसेका उनीहरु बिरामी परे, जसको समर्थनमा १० लाख जनता तियानमेन स्क्वायरमा पुगे।

‘बेइजिङका जनताले साँच्चैको ऐक्यबद्धता जनाएका थिए,’ लाम सम्झन्छन्, ‘साना केटाकेटीदेखि सरकारी अधिकारी, हजुरबा तथा कम्युनिष्ट पार्टीका कार्यकर्तासम्म बेइजिङमा उर्लिएका थिए, यस्तो अवस्थामा सरकार आफ्नै जनताविरुद्ध आक्रमणमा उत्रन्छ भनेर हामीले सोचेका पनि थिएनौं।’

मे २० का दिन सरकारले सैनिक कानुन घोषणा गर्यो र सेनाका ७ बटालियन तियानमेन स्क्वायरमा खटायो । त्यसको विरुद्धमा सैनिक ट्रक, ट्यांकमाथ अवरोध गर्न आन्दोलनकारीले पनि चिनिया भाषाामा लाओवाइजिङ भनिने अर्को समूह गठन गरे। केही समयपछि नै मजदूर पनि आन्दोलनमा मिसिए।

जुन ३, १९८९ का दिन रातको ९ बजेको थियो । ली, ल्याम र चान बेइजिङ होटलको लबीतिर जान लिफ्टतिर लागेका थिए । त्यहाँ रहेका पत्रकारको एक समूहले उनीहरुलाई सचेत गराउँदै भने– बाहिर निस्कनु खतरा छ । उनीहरु तीनै जना हतारिँदै कोठातिर गए र केही संवेदनशिल कागजातमा आगो लगाएर नष्ट गरे, फ्क्यास मेसिन फोडिदिए र साथमा भएको नगद कसैगरी सुरक्षित राखे।

त्यसपछि रातिदेखि सुरु भएको सैनिक कारवाही जुन ४ को बिहानसम्म जारी थियो। सेनाले ट्यांकको माध्यमबाट गरेको दमनका क्रममा हजारौं प्रदर्शनकारीको मृत्यु भएको मानिन्छ । तर चीन सरकारले उक्त घटनाको वास्तविक सत्य अहिलेसम्म सार्वजनिक गरेको छैन

टाइम पत्रिकाबाट स्पेसखबरकाे सहयाेगमा