यसकारण राजालाई ‘गेट आउट’ गरियाे : देउवा

यसकारण राजालाई ‘गेट आउट’ गरियाे : देउवा

काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजसंस्थासं‌ग कांग्रेसले धेरै काम गरेपनि राजाले प्रजातन्त्र मान्नै नचाहेपछि हटाउनु परेकाे बताएका छन् । कांग्रेसको केन्द्रीय अनुसन्धान, नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज आयोजित गणतन्त्रको एक दशक विषयक अन्तर्किया कार्यक्रममा बोल्दै सभापति देउवाले राजसंस्था हटाउनुको रहस्य उजागर गरेका हुन् ।

उनले राजाले बारम्बार धोका दिएपछि कांग्रेसले वाक्क दिक्क भएर राजसंस्था हटाउने निर्णय गरेको बताए । कांग्रेसले राजा र जनतालाईसँगै लिएर अघि बढ्ने सिद्धान्त बनाएर २००७ सालदेखि नै राजालाई साथ दिए पनि पटक पटक राजाहरुकाे व्यवहारका कारण राजासंगै हिड्न सम्भव नभएको बताए ।

कांग्रेस राजाका बारेमा उदार हुँदाहुँदै पनि राजा जनतासँग हिँड्न नचाहेको उनले बताए । राजाले प्रजातन्त्र मान्नै नचाहेको देउवाको दाबी थियो । नेपालका कम्युनिष्टलाई राजाले नै सधैँ कांग्रेसविरुद्ध प्रयोग गरेको देउवाको भनाई थियो ।

२०१७ सालमा राजा महेन्द्रले जननिवचित बिपी कोइरालालाई जेल हालेर सत्ता आफ्नो हालतमा लिएको स्मरण गर्दै उनले भने ‘पछि फेरि ज्ञानेन्द्रले मलाई त्यसैगरी अपदस्थ गरे ।’

प्रजातन्त्रका लागि कति हामी जेलमात्रै बसिरहने, अब राजालाई बोक्न सकिँदैन भनेर गिरिजाबाबु र हामीबीच छलफल भएपछि राजतन्त्रलाई सधैँका लागि ‘गेट आउट’ गर्ने निर्णय भएको सभापति देउवाले सुनाए ।

देउवाले प्रधानमन्त्री केपी ओलीको रबैयाका कारण संघीय शासन व्यवस्था धरापमा परेको टिप्पणी गरे । उनले भने ‘ ओली ठीक बाटोमा नहिड्ने हो भने फेरी पनि आन्दोलन गर्ने बेला आउँछ ।’

पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने आफ्नो एक मात्र स्वार्थ रहेको बताउँदै उनले भने, ‘मेरो व्यक्तित स्वार्थ भनेको पार्टीलाई एकढिक्का बनाउने हो ,‘तर त्यसका लागि सबैको सहयोग चाहिन्छ ।’

चुनावमा हारेकै कारण कतिपय साथीहरुको बोलचाल समेत बन्द भएको उनको भन्दै उनले भने ‘पुराना कुरा छाडेर आगामी निर्बाचनलाई मध्यनजर गरी अघि बढ्नुपर्छ, अन्तरघात बन्द गरौँ ।’

कार्यक्रममा उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रष्ठिानका प्रमुख विमलेन्द्र निधिले परिबर्तनको स्वामित्व कांग्रेसले लिनुपर्ने भन्दै त्यसको सफलतापूर्बक कार्यान्वयन गर्ने दायित्व पनि कांग्रेसकै भएको बताए । बिपी कोइरालाको वैचारिक धरातलमा टेकेर कांग्रेसले गणतन्त्र र संघीयताको मुद्दा उठाएको निधिले बताए ।

महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्रको नारा कांग्रेसको भएको बताए । कम्युष्टिहरुले जनतामाझ गणतन्त्रको नारा आफ्नो भनेर जतिसुकै भ्रम छर्न खोजे पनि स्वमित्व नभएकोले नै उनीहरु संघीयता बिरोधी कुरा गर्दै हिँडेको चर्चा गरे । गणतन्त्रको संस्थागत विकासका लागि आगामी निर्बाचनमा कांग्रेसले बहुमत दिनुपर्ने महामन्त्री कोइरालाको भनाइ थियो ।

सोही कार्यक्रममा बोल्दै प्राध्यापक कृष्ण खनालले नेपाली कांग्रेसको सोच र अगुवाइमा मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए । खनालले दल र तिनका नेताको सोच र संस्कार बदलिनुपर्ने आवश्यकता औँल्याए ।

नेपालबाट सधैंका लागि राजतन्त्रलाई बिदाई गरिसकिएकोले पुनः राजतन्त्रको सपना नदेख्न चेतावनी दिँदै खनालले भने ‘अहिले नेपालमा राजतन्त्र फर्काउने कुरा गर्नु भनेको चिहानमा गाडेको मुर्दालाई उतार्नुजस्तै हो।’

गणतन्त्रको बिकल्प अन्य व्यबस्था हुन नसक्ने भन्दै उनले व्यबस्थामा भएका कमिकमजोरीलाई सुधारेर अघि बढ्नुपर्नेमा जोड दिए । यसका लागि जनता, राजनीतिक दल र सिंगो संसद सच्चिनुपर्ने खनालको भनाइ थियो ।

कार्यक्रमका अर्का वक्ता संविधानविद् डा. विपिन अधिकारीले लामो संघर्षबाट प्राप्त गणतन्त्रमा धोखा हुन नहुने बताए । सरकारले संसदमा पेस गरेका अधिकांश विधेयक नियन्त्रणमुखी भएकोमा आपत्ति जनाउँदै उनले भने, ‘स्वतन्त्र न्यायपालिका बलिको बोको भएको छ,‘ मौलिक अधिकारमाथि धावा बोल्ने काम भएको छ ।’

कार्यक्रममा पूर्बप्रमुख निर्बाचन आयुक्त भोजराज पोखरेल, डा. सूर्य ढुंगेल, डा. बिनोद भट्टराई, हरिहर बिरहीलगायत बक्ताले गणतन्त्रको यात्रा उल्टो दिशातिर बढ्न लागेकोले सही बाटोमा ल्याउनका लागि खबरदारीको खाँचो औँल्याए ।