

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा लुम्बिनी लाइन्सले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्दा विराटनगर किंग्स र काठमान्डु गोर्खाज दोस्रो खेलमा आमनेसामने हुनेछन्।
दिउँसो साढे १२ बजे सुरु हुने पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेको लुम्बिनी र चौथो स्थानको जनकपुर भिड्नेछन्। लुम्बिनीले तीन खेलबाट दुई जित निकालेको छ भने वर्षाका कारण एक खेल रद्द भएपछि दुवै टोलीले एक-एक अंक बाँडेका छन्। यता जनकपुरले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ।
दोस्रो खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ। उक्त खेलमा अंकतालिकाको दोस्रो स्थानमा रहेको विराटनगर किंग्सले सातौँ स्थानको काठमान्डु गोर्खाजको सामना गर्नेछ। विराटनगरले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ। काठमान्डुले भने दुई खेल खेल्दा एकमा जित र एकमा हार व्यहोरेको छ।
आजका दुवै खेल अंकतालिकामा आफ्नो स्थान बलियो बनाउने दृष्टिले महत्त्वपूर्ण हुनेछन्।