थाइल्यान्डलाई ७ विकेटले हराउँदै नेपालले गर्‍यो विजयी सुरुआत

थाइल्यान्डलाई ७ विकेटले हराउँदै नेपालले गर्‍यो विजयी सुरुआत

काठमाडौं । नेपालले यू–१९ महिला विश्वकप ‘बेल्ट एन्ड रोड’ सिरिजमा थाइल्यान्डलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। थाइल्यान्डले दिएको ३६ रनको सामान्य लक्ष्य नेपालले ९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा सना प्रविनले सर्वाधिक १५ रन बनाइन्। टीका शाहले ९ बलमा अविजित १२ रन जोडिन्। पसोनी पाख्रिनले ५ रन बनाउँदा सबित्री धामी खाता नखोली आउट भइन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्ड नेपाली बलरसामु निरीह देखियो। थाइल्यान्ड १४.३ ओभरमा ३५ रनमै समेटिएको थियो। उसका लागि पी दाराजारोएनले सर्वाधिक ९ रन बनाइन्। पी साओवारोडले अविजित ७ तथा के खाङपानाप्राइसनले ५ रन जोडिन्। नेपालका टीका शाह, रचना चौधरी, एमके उपाध्याय र रिया शर्माले समान दुई विकेट लिए।