एनपीएलमा आज विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

एनपीएलमा आज विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्स तथा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सको सामना गर्नेछन् ।

आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर र जनकपुर आमनेसामने हुनेछन् । तीन खेल खेलेको विराटनगरले एकमा जित र दुईमा हार बेहोरेको छ । चितवन र कर्णालीसँग पराजित भएको विराटनगरले सुदूरपश्चिमविरुद्ध भने जित निकालेको थियो ।

तीन खेल खेलेको जनकपुरले दुईमा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले त्यसपछि काठमाडौं र पोखरालाई हराएको थियो ।

त्यस्तै, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् । दुई खेल खेलेको लुम्बिनीले एकमा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको छ । पहिलो खेलमा सुदूरपश्चिमलाई पराजित गरेको लुम्बिनीले दोस्रो खेलमा चितवनसँग खेल्दा वर्षाका कारण नतिजा निस्कन सकेको थिएन ।

उता, पोखरा भने पहिलो जितको खोजीमा छ । दुई खेल खेलेको पोखरा दुवैमा पराजित भएको छ । पहिलो खेलमा सुदूरपश्चिम र दोस्रो खेलमा जनकपुरसँग हारेको पोखरा आज लुम्बिनीलाई हराउँदै प्रतियोगितामा जितको खाता खोल्ने लक्ष्यमा हुनेछ ।