

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामै ११ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ का लागि नौ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरिएकोमा कार्यालयले कात्तिक १३ गतेसम्ममै लक्ष्यभन्दा दुई अर्ब ४५ करोड ४७ लाख रुपैयाँ बढी राजस्व उठाएको हो ।
भन्सार अधिकृत अमिन्द्र सिंहका अनुसार साउनदेखि कात्तिक १३ गतेसम्म कोरलानाकाबाट २६ अर्ब एक करोड २३ लाख रुपैयाँ बराबरका मालवस्तु आयात भएका छन् । सोही अवधिमा नेपालबाट २८ करोड ६३ लाख रुपैयाँ बराबरका सामान चीनतर्फ निर्यात भएका छन् ।
यस अवधिमा चीनबाट आयात गरिएका छ हजार ५०१ वटा विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भएको सिंहले जानकारी दिए । गत आर्थिक वर्षमा कार्यालयले छ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । दसैँअघि असोज २७ गतेसम्म कार्यालयले आठ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । दसैँपछि थप तीन अर्ब १२ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको सिंहले बताए ।
त्यसैगरी, दसैँअघि कोरलानाकाबाट १० अर्ब ४० करोड ६९ लाख रुपैयाँ बराबरका चिनियाँ सामान आयात भएकामा दसैँपछि थप छ अर्ब ७० करोड ५४ लाख रुपैयाँ बराबरका सामान नेपाल भित्रिएका छन् ।
विद्युतीय सवारीसाधनको आयात पनि दसैँपछि उल्लेख्य बढेको छ । साउनदेखि असोज २७ गतेसम्म तीन हजार ९२६ वटा ईभी भित्रिएकामा त्यसपछिको १५ दिनमा थप दुई हजार ५७५ वटा सवारीसाधनको भन्सार जाँचपास भएको भन्सार अधिकृत सिंहले जानकारी दिए ।
रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द हुँदा कोरलानाकाबाट आयात-निर्यात कारोबार बढेको सिंहको भनाइ छ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि व्यापारिक मार्ग परिवर्तन भई सयौँ कन्टेनरका सामान कोरलानाकाबाट आयात भएको उनले बताए ।
चीनसँगको वैकल्पिक व्यापारिक मार्गका रूपमा विकसित हुँदै गएको कोरलानाकाबाट तयारी पोसाक, कस्मेटिक सामग्री, विद्युतीय उपकरण, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, फलफूल, चाडपर्व लक्षित सामग्री तथा विद्युतीय सवारीसाधन आयात भइरहेका छन् । नेपाल-चीन उत्तरी कोरलानाका सरकारले गत वर्ष भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो ।