

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ। सवारीसाधनको वर्गअनुसार शुल्क निर्धारण गरी सङ्कलन सुरु गर्न लागिएको हो। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङमार्ग प्रयोग गरेबापत विभिन्न प्रकारका सवारीसाधनबाट फरक–फरक दरमा शुल्क लिइने जनाएको छ।
सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय र २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाका आधारमा शुल्क सङ्कलन गर्न लागिएको आयोजनाले स्पष्ट पारेको छ। निर्धारित दरअनुसार वर्ग १ मा पर्ने कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
वर्ग २ मा पर्ने मिनी बस तथा मिनी टिपर वा ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। त्यस्तै, वर्ग ३ मा पर्ने बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। वर्ग ४ मा पर्ने मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको आयोजनाले जनाएको छ।
