एनप्याब्सनलाई सरकारले गर्‍यो निलम्बन, संगठनका नाममा गतिविधि नगर्न चेतावनी

एनप्याब्सनलाई सरकारले गर्‍यो निलम्बन, संगठनका नाममा गतिविधि नगर्न चेतावनी

काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम अर्को निर्णय नभएसम्मका लागि एनप्याब्सनलाई निलम्बन गरिएको जनाएको हो।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘राष्ट्रिय निर्देशन ऐन, २०१८ दफा ५ बमोजिमको निर्देशन पालना नगरेकाले ऐ. ऐनको दफा ६ को उपदफा (२) बमोजिम राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाललाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

गृह मन्त्रालयका अनुसार यसअघि पटकपटक दिइएका निर्देशन एनप्याब्सनले पालना गरेको थिएन। त्यस्तै, संगठनका पदाधिकारीले सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि गरेको पनि मन्त्रालयले जनाएको छ। निलम्बनसँगै मन्त्रालयले एनप्याब्सनका नाममा कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको छ। निर्देशनविपरीत गतिविधि गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।