

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आईटी) उद्योगको विकास र विस्तारका लागि नीतिगत सुधार र कर सहुलियतको व्यवस्था गर्ने बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नेपाली युवाले निर्माण गरेका गेमले अन्तर्राष्ट्रिय बजारमा उल्लेख्य सफलता हासिल गरिरहेको बताएका हुन् ।
उनका अनुसार नेपालीले विकास गरेको विश्वचर्चित ‘लुडो गेम’ करिब २० करोड र ‘कलब्रेक गेम’ १५ करोडभन्दा बढी पटक डाउनलोड भएका छन् । नेपालमा सयौँ युवा गेम एप निर्माणमा सक्रिय रहेको पनि उनले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले गेम डेभलपमेन्ट क्षेत्रमा संलग्न युवाहरूसँग छलफल गरी उनीहरूका समस्या र उद्योग विस्तारका सम्भावनाबारे जानकारी लिइएको बताएका छन् । यस क्षेत्रलाई सहज बनाउँदै उद्योगका रूपमा अघि बढाउन आवश्यक गृहकार्य सुरु गरिएको उनको भनाइ छ ।
‘नेपालबाटै ग्लोबल युनिकर्न कम्पनी बनाउन सहज हुने नियम र वातावरण पुनरावलोकन गर्नेछौँ,’ उनले लेखेका छन्, ‘गेम डेभलपमेन्ट क्षेत्रलाई सहज बनाउन र उद्योगका रूपमा अघि बढाउन युवाहरूका समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ ।’ आईटी उत्पादन तथा निर्यातको क्षेत्रमा पनि प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाली प्रतिभा र कम्पनीहरूले सहज रूपमा आम्दानी गर्न र त्यसलाई पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गरिने बताएका छन् ।