पत्रकार पक्राउको विरोधमा महासंघको प्रदर्शन, माइतीघरमा वर्षाबीच पनि उर्लिए पत्रकार

पत्रकार पक्राउको विरोधमा महासंघको प्रदर्शन, माइतीघरमा वर्षाबीच पनि उर्लिए पत्रकार

काठमाडौं । पत्रकार पक्राउ तथा सञ्चारगृहमा प्रहरी प्रवेश गरेर गरिएको धरपकडको विरोधमा नेपाल पत्रकार महासंघले आज बिहान काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । महासंघको नेतृत्वमा पत्रकारहरूले वर्षाको समेत पर्वाह नगरी माइतीघरमा भेला भएर विरोध जनाएका हुन् ।

शुक्रबार साँझ सादा पोसाकका प्रहरीले समाचार कक्षमै प्रवेश गरी नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएका थिए ।

त्यस्तै, पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन प्रहरी सादा पोसाकमै नयाँ पत्रिकाको कार्यालय पुगेको थियो । मैनाली कार्यालयमा नभेटिएपछि प्रहरीले नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तसँग करिब अढाई घण्टा छलफल तथा विवाद गरेको थियो ।

पत्रकार पक्राउको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सचिवालयले घटनामा प्रधानमन्त्री कार्यालय वा सचिवालयको कुनै संलग्नता नरहेको दाबी गरेको थियो । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत पत्रकार पक्राउ गर्ने विषयमा प्रधानमन्त्रीलाई पूर्वजानकारीसमेत नभएको बताएकी थिइन् ।

पत्रकार पक्राउको व्यापक विरोध भएपछि प्रहरीले शुक्रबार राति नै नियन्त्रणमा लिएका सबै पत्रकारलाई रिहा गरेको थियो ।