

मकवानपुर । इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयमा पानीको सतह निरन्तर बढिरहेको छ । पछिल्लो मापनअनुसार जलाशयको सतह १ हजार ५२८.२५ मिटर पुगेको छ । जलाधार क्षेत्रमा भइरहेको निरन्तर भारी वर्षाका कारण जलाशयमा पानीको सतह बढ्ने क्रम जारी रहेको छ । सतह १ हजार ५२८.५० मिटर पुगेपछि पहिलो सुरक्षा साइरन बजाइने भएकाले हाल साइरन बज्ने तहभन्दा जलाशयको सतह २५ सेन्टिमिटर मात्रै तल छ ।
जलाशयको अधिकतम भण्डारण क्षमता १ हजार ५३० मिटर हो । हालको सतह अधिकतम क्षमताभन्दा १.७५ मिटर कम रहेको छ ।
सम्भावित साइरनलाई चेतावनी प्रणालीको नियमित प्रक्रिया भन्दै सर्वसाधारणलाई नआत्तिन र आधिकारिक सूचनाको पालना गर्न आग्रह गरिएको छ ।
यसअघि नेपाल विद्युत् प्राधिकरणअन्तर्गत कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जलाधार क्षेत्रमा भारी वर्षा भइरहेकाले जलसतह सन्तुलित राख्न आवश्यक परे ड्यामका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने जनाएको थियो । ढोका खोल्नुपर्ने अवस्था आएमा थप सूचना जारी गर्नुका साथै चेतावनी साइरन पुनः बजाइने केन्द्रले स्पष्ट पारेको छ ।
आयोजनाले ड्यामको तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपास बसोबास गर्ने सर्वसाधारणलाई खोला र नदीबाट टाढा अग्लो तथा सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । त्यस्तै, देउराली–सिस्नेरी सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ । जलाशयको सतह बढिरहेको र साइरन बज्ने तह नजिकिँदै गएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा आयोजनाले जारी गर्ने आधिकारिक सूचनाको पालना गर्न आग्रह गरिएको छ ।