बाढीपहिरोले गोरखा, काभ्रे र सुर्खेतका सडक अवरुद्ध, कान्तिलोकपथमा राति आवागमन बन्द

बाढीपहिरोले गोरखा, काभ्रे र सुर्खेतका सडक अवरुद्ध, कान्तिलोकपथमा राति आवागमन बन्द

काठमाडौं । बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका छन् । सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथमा रातिको समयमा सवारी आवागमनसमेत बन्द गरिएको छ ।

गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बुढीगण्डकी नदीको बाढीले बगाएपछि दुई वडाबीचको सडक सम्पर्क विच्छेद भएको छ । त्यस्तै, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली र वडा नं. ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित औलिसेमासुक्खामा पहिरो खसेपछि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । बाढीपहिरोका कारण सडक अवरुद्ध भएपछि ती क्षेत्रको यातायात आवागमन प्रभावित भएको छ ।