

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का सहायक महासचिव बद्री भट्टराई निमित्त महासचिवमा नियुक्त भएका छन्। शुक्रबार एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बसेको बहुमत कार्यसमिति सदस्यहरूको बैठकले भट्टराईलाई निमित्त महासचिवको जिम्मेवारी दिने निर्णय गरेको हो। २१ सदस्यीय कार्यसमितिमध्ये १२ सदस्यको आह्वानमा बैठक बसेको थियो।
वरिष्ठ उपाध्यक्ष खड्काद्वारा जारी विज्ञप्तिमा महासचिव किरण राईविरुद्ध नै अभियोजन भएकाले दैनिक कार्य सञ्चालन, संघका तर्फबाट सम्बन्धित निकायमा आवश्यक पत्राचार तथा अन्य प्रशासनिक काम गर्न अर्को निर्णय नभएसम्मका लागि भट्टराईलाई नियुक्त गरिएको उल्लेख छ।
एन्फा विधानको धारा ३८(६) तथा ६६(४) अनुसार कार्यसमितिको अधिकारक्षेत्रभित्र रहेर निमित्त महासचिव मनोनीत गर्न सकिने व्यवस्था रहेको विज्ञप्तिमा जनाइएको छ।
बैठकले फिफाको निलम्बनसम्बन्धी एन्फालाई प्राप्त पत्रहरूको अवस्था बुझ्न उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा छ सदस्यीय समिति पनि गठन गरेको छ। समितिमा उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसी, सदस्यद्वय मनिष जोशी र टीकाराम लामा तथा निमित्त महासचिव भट्टराई रहेका छन्।
त्यस्तै, एन्फा निर्वाचनका विषयमा फिफा, एसियाली फुटबल महासंघ (एएफसी) र नेपाल सरकारसँग भौतिक उपस्थितिमा छलफल तथा आवश्यक पहल गर्ने निर्णय बैठकले गरेको छ।
बैठकले एन्फा कार्यसमिति सदस्य दीपेन्द्र धिमालको निधनप्रति शोक व्यक्त गर्ने निर्णयसमेत गरेको छ। यसअघि गत कात्तिक ११ गते वरिष्ठ उपाध्यक्ष खड्कासहित बहुमत केन्द्रीय सदस्य एन्फा मुख्यालय पुगेर ताला खोली बैठकको तयारीमा जुटेका थिए।
यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो, भ्रष्टाचार तथा अन्य अनियमिततासम्बन्धी अनुसन्धानपछि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्रमान जोशी र लेखा अधिकृत सञ्जिव पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरू चारै जना धरौटीमा रिहा भइसकेका छन्।