‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव : तीन दिन उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव : तीन दिन उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएको र अति शक्तिशाली बन्न सक्ने सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाल मौसम विज्ञान विभागले जारी गरेको पोस्ट मनसुनसम्बन्धी विशेष बुलेटिनलाई उद्धृत गर्दै प्राधिकरणले चक्रवातको प्रभाव नेपालमा समेत पर्न सक्ने जनाएको छ। प्राधिकरणका अनुसार चक्रवात आगामी कात्तिक ११ गते भारतको जमिनमा प्रवेश गर्ने सम्भावना छ। हालसम्मको मौसम विश्लेषणअनुसार यसको प्रभाव नेपालमा कात्तिक १२ गते बिहीबार रातिदेखि देखिन सक्ने अनुमान गरिएको छ।

पाँच प्रदेशमा वर्षा, हिमाली क्षेत्रमा हिमआँधीको जोखिम

प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी देखिन सक्छ। ती प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको प्राधिकरणले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले कात्तिक १२, १३ र १४ गते विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका आठ सुझाव

सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि प्राधिकरणले सर्वसाधारण, किसान, पर्यटक तथा सम्बन्धित निकायलाई आठ बुँदे सुझाव दिएको छ।

१. कृषि कार्य समयमै सम्पन्न गर्ने: धान काट्ने, भित्र्याउनेलगायतका कृषि कार्य कात्तिक १२ गते बिहीबारअघि नै सम्पन्न गर्न तथा गराउन आग्रह गरिएको छ।

२. उच्च पहाडी र हिमाली क्षेत्रमा नजाने: पर्यटकलाई उक्त अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र गइसकेका भए सुरक्षित स्थानमा रहन सुझाव दिइएको छ।

३. आवश्यक परे यातायात बन्द गर्ने: जोखिमको अवस्था हेरी सवारी आवागमन बन्द गर्न सकिने र त्यसअघि सर्वसाधारणलाई अग्रिम जानकारी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

४. अनावश्यक यात्रा नगर्ने: सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न भनिएको छ।

५. पूर्वतयारी अवस्थामा रहने: संघीय मन्त्रालय, सरकारी निकाय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवालालाई जोखिमबारे सर्वसाधारणलाई जानकारी गराउन र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

६. जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने: जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकले पूर्वसूचना र चेतावनीका आधारमा जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेछ।

७. आधिकारिक सूचना पालना गर्ने: प्राधिकरण, नेपाल मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना र चेतावनी पालना गर्न आग्रह गरिएको छ।

८. आवश्यक परे सम्पर्क गर्ने: मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग माग्न १२३४, १०० वा १११४ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ।

नारायणी, बागमती, कमला र कोशी नदीमा जलसतह बढ्न सक्ने

प्राधिकरणले चक्रवातको सम्भावित प्रभावका कारण कात्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोशी नदीका जलाधार, उपजलाधार तथा आसपासका क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्ने जनाएको छ। वर्षाका कारण यी नदीमा जलसतह बढ्न सक्ने भएकाले नदी आसपासका बासिन्दा तथा सम्बन्धित निकायलाई सतर्क रहन आग्रह गरिएको छ।