

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज सोमबारदेखि सुरु हुँदै छ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ। लुम्बिनी रोहित पौडेल र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा उत्रने छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। एनपीएलको तेस्रो संस्करण आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।
यस संस्करणको उपाधि जित्ने टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको अवधिमा एक अर्ब ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने क्यानको अनुमान छ। क्यानका अनुसार प्रायोजनबाट मात्रै ३० करोड रुपैयाँ र टिकट बिक्रीबाट ७० करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ। फ्रेन्चाइज टोलीसहित अन्य स्रोतबाट हुने कारोबार जोड्दा कुल आर्थिक कारोबार एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको हो।
प्रतियोगिताका लागि अनुबन्ध गरिएका विदेशी खेलाडी नेपाल आउने क्रम जारी छ।
एनपीएलमा विभिन्न सहरका आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँगै काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्स, कर्णाली याक्स र जनकपुर बोल्ट्स प्रतियोगितामा सहभागी छन्। प्रतियोगितामा लिग चरणका २८ र प्लेअफका चार गरी कुल ३२ खेल सञ्चालन हुनेछन्।
एनपीएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ। यससँगै प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन सम्बन्धित आधिकारिक तथ्याङ्कमा समावेश हुने व्यवस्था रहेको छ।
यस संस्करणदेखि निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधिसमेत प्रयोग गरिनेछ। डीआरएसको प्रयोगले अम्पायरका निर्णय पुनरावलोकन गर्न सकिने भएकाले खेलको निष्पक्षता र प्रतिस्पर्धात्मक पक्षलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। आईसीसीको मान्यता, डीआरएस प्रविधि र आठ फ्रेन्चाइज टोलीको सहभागितासहित सुरु हुन लागेको एनपीएल मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।