

पोखरा । पोखरा तथा गण्डकी प्रदेशको पर्यटन विकास र आर्थिक समृद्धिका लागि पोखरा पर्यटन परिषद्ले सरकारसमक्ष १० बुँदे माग अघि सारेको छ। परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान विस्तार, पर्यटकीय पूर्वाधार निर्माण, पदमार्ग संरक्षण, पर्यटनमैत्री नीति तथा कर प्रणालीमा सुधार गर्न माग गरेको हो।
परिषद्का अध्यक्ष हरि भुजेलले सभामुख डीपी अर्याललाई ज्ञापनपत्र बुझाउँदै माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराउन आग्रह गर्नुभएको छ।
परिषद्ले पर्यटन क्षेत्रको दिगो विकास र आर्थिक उन्नतिका लागि तीनै तहका सरकार, पर्यटनसम्बद्ध संघसंस्था तथा अन्य सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ। तत्काल देखिएका समस्या समाधान गर्नुका साथै दीर्घकालीन पर्यटन विकासका योजना कार्यान्वयन गर्न पनि परिषद्ले आग्रह गरेको छ।
परिषद्ले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न विशेष पहल गर्न सरकारसँग माग गरेको छ।
त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने नेपालीका लागि श्रम स्वीकृति, भिसा प्रक्रियालगायत आवश्यक सेवा पोखराबाटै उपलब्ध गराउन आग्रह गरिएको छ। पोखराबाट देशका बाँकी छवटै प्रदेशसहित विभिन्न गन्तव्यमा सिधा हवाई उडान विस्तार गर्न पनि परिषद्ले माग गरेको छ।
परिषद्ले वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ का प्रावधानका कारण लामो समयदेखि सञ्चालनमा रहेका होटलको नवीकरणमा देखिएका समस्या सहज बनाउन माग गरेको छ।
त्यसैगरी, पोखराको लेकसाइड क्षेत्रमा रहेका होटल तथा व्यावसायिक भवनको सम्पन्नता प्रमाणपत्र र अभिलेखीकरण गर्दा लाग्ने करमा सहुलियत दिन परिषद्ले आग्रह गरेको छ।
व्यवसायीले तिर्नुपर्ने कर तथा राजस्व एकद्वार प्रणालीबाट संकलन गर्ने व्यवस्था मिलाउनुपर्ने परिषद्को अर्को माग छ। यसले व्यवसायीलाई सहज हुनुका साथै कर प्रशासनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने परिषद्को अपेक्षा छ।
परिषद्ले कोरला नाकालाई चलायमान बनाउँदै कैलाश मानसरोवर तथा मुक्तिनाथ–दामोदरकुण्ड क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
त्यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत निर्माणाधीन सडक यथाशीघ्र सम्पन्न गर्न माग गरिएको छ। सडक तथा अन्य पर्यटकीय पूर्वाधारको विकासले गण्डकी प्रदेशका विभिन्न गन्तव्यमा पर्यटकको आवागमन सहज हुने परिषद्को अपेक्षा छ।
बढ्दो सडक विस्तार तथा समयमै मर्मतसम्भार हुन नसक्दा गण्डकी प्रदेशका पुराना पदमार्ग हराउँदै गएको भन्दै परिषद्ले तिनको संरक्षण र मर्मतसम्भार गर्न माग गरेको छ।
पदयात्राका लागि नेपाल आउने विदेशी पर्यटकको आकर्षण कायम राख्न पुराना पदमार्गको संरक्षणसँगै नयाँ पदयात्रा गन्तव्यको खोजी र विकास गर्नुपर्ने परिषद्को भनाइ छ।
पोखरा–६, लेकसाइडस्थित नेपाल ट्रस्टको संरक्षणमा रहेको रत्नमन्दिरलाई संग्रहालयका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गर्न परिषद्ले माग गरेको छ।
त्यसैगरी, फेवातालको संरक्षण तथा ताल वरिपरि पदमार्ग निर्माणका लागि आवश्यक पूर्वाधार विकास गर्न सरकारसँग आग्रह गरिएको छ।
परिषद्ले पर्यटन क्षेत्रका तत्कालीन समस्या समाधानसँगै नीतिगत सुधार, पूर्वाधार विकास र सरोकारवालाबीच प्रभावकारी समन्वयमार्फत पोखरा तथा समग्र गण्डकी प्रदेशको पर्यटनलाई दिगो र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिएको छ।