भारततर्फ विद्युत निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी

भारततर्फ विद्युत निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरी ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आवको भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त रकम बढेको हो।

प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को तथ्याङ्कअनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात गरिएको थियो। उक्त विद्युत् बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको प्राधिकरणले जनाएको छ।

असोजमा भारततर्फ विद्युत् निर्यात दुई माध्यमबाट गरिएको थियो। द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री गरिएको थियो भने बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो।

प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत हुने वर्षायामको विद्युत् प्रत्येक वर्ष भारत तथा बंगलादेशमा निर्यात गर्दै आएको छ। द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा र बिहारमा जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री गरिन्छ।

गत वर्ष २०८२ को असोजमा भारततर्फ विद्युत् निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। चालु आवको भदौमा यस्तो कारोबार रकम ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ थियो।

यसअनुसार गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम ९६ करोड २० लाख रुपैयाँले बढेको छ। त्यस्तै, भदौको तुलनामा असोजमा ८३ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको बताउनुभयो। उहाँका अनुसार असोजमा भारततर्फ निर्यात गरिएको कुल विद्युत् परिमाणमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी आईएक्समार्फत बिक्री गरिएको थियो।

बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु

भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ। गत शुक्रबार, कात्तिक ६ गते साँझदेखि निर्यात पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेशतर्फ विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्‍याएपछि निर्यात रोकिएको थियो। बाढीका कारण द्विपक्षीय सम्झौताअनुसार विद्युत् बिक्रीका लागि स्वीकृति प्राप्त आयोजनामा क्षति पुग्दा भारतको हरियाणा राज्यतर्फको निर्यात पनि आंशिक रूपमा प्रभावित भएको थियो।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत् केन्द्रमा उत्पादित विद्युत् बंगलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो।

उहाँका अनुसार बाढीबाट प्रभावित आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा असर परे पनि अन्य आयोजनाबाट विद्युत् निर्यातलाई निरन्तरता दिन सकिनु र बंगलादेशतर्फको निर्यात पुनः सुरु हुनु नेपालको विद्युत् व्यापारका लागि महत्त्वपूर्ण उपलब्धि हो। यसबाट वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को बजार व्यवस्थापन तथा क्षेत्रीय विद्युत् व्यापार विस्तारमा सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ।

नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा भारतको हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ।

नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत् निर्यातसम्बन्धी पाँचवर्षीय सम्झौता भएको थियो। सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात गरिँदै आएको छ।

भारततर्फ विद्युत् निर्यात क्षमता १,१७९ मेगावाट

भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएको छ। नयाँ अनुमतिसँगै भारततर्फ विद्युत् निर्यात गर्न स्वीकृति प्राप्त कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ।