

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गर्न ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ। ग्यास विक्रेताले बिक्रीपछि उपभोक्तालाई बिलबिजक नदिने गरेको गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै आफ्ना डिलर तथा विक्रेतामार्फत ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको छ।
निगमले पत्रमा ग्यास उद्योगबाट नियुक्त कतिपय विक्रेताले ग्यास बिक्री गरेपछि बिलबिजक जारी नगरेको गुनासो आएको उल्लेख गरेको छ। उपभोक्ताले ग्यास खरिद गर्दा बिल पाउने सुनिश्चित गर्न विक्रेतालाई अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन निगमले आग्रह गरेको छ।
निगमले ग्यास उद्योगहरूलाई आफ्ना डिलर तथा विक्रेताको कामकारबाही नियन्त्रण र नियमन गर्न यसअघि पनि पत्राचार गरेको जनाएको छ। निगमले यससम्बन्धी निर्णय कार्यान्वयनका लागि २०८१ साउन ३० र माघ १० गतेसमेत सम्बन्धित संघलाई पत्राचार गरेको स्मरण गराएको छ।
ग्यास खरिद गर्दा उपभोक्ता ठगिने तथा कालोबजारी हुने जोखिम न्यूनीकरण गर्नुका साथै बजारमा पारदर्शिता कायम गर्न भ्याट बिल अनिवार्य गरिएको निगमले जनाएको छ। बिलबिजक जारी गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भए ग्यासको कारोबार व्यवस्थित बनाउन र उपभोक्ताले खरिदको प्रमाण प्राप्त गर्ने सुनिश्चिततामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
निगमले उक्त पत्रको बोधार्थ कार्यकारी निर्देशक तथा नायब कार्यकारी निर्देशक (बजार व्यवस्था) लाई समेत दिएको छ।