

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको अवसरमा देशविदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले विजयादशमी असत्यमाथि सत्यको विजयको उत्सव भएको उल्लेख गरेका छन्। पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको स्मरण गर्दै उनले सबैले हरेक सत्कर्ममा सफलता प्राप्त गर्न सकून् भन्ने कामना गरेका छन्।
मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले दसैँलाई विशेष बनाएको उल्लेख गर्दै उनले टाढा रहेका मान्यजनलाई समेत खोजीखोजी भेट्न जाने नेपाली संस्कृतिको आत्मीय पक्षलाई स्मरण गरेका छन्।
प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने बताएका छन्। उनले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक बेथितिलाई आसुरी प्रवृत्तिको संज्ञा दिँदै यस्ता विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
‘आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक बेथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ,’ उनले सन्देशमा भनेका छन्।
उनले इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनतबाट मात्रै समाजमा विद्यमान विकृति हटाउन सकिने बताएका छन्। परिवर्तनका लागि सोचसँगै व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको उनको भनाइ छ।
विजयादशमीले नेपालको भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने विश्वास पनि प्रधानमन्त्री शाहले व्यक्त गरेका छन्। साथै, वर्षौँदेखि टाढिएका साथीभाइ तथा आफन्तजनसँग भेटघाट गरी आत्मीयता साटासाट गर्ने अवसरका रूपमा समेत उनले दसैँको महत्त्व स्मरण गरेका छन्।