महिलाले पालेका ६०० खसीबोका बिक्री, दसैँ खर्च जुटाउँदै बाँकेका किसान

महिलाले पालेका ६०० खसीबोका बिक्री, दसैँ खर्च जुटाउँदै बाँकेका किसान

रुपन्देही । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले व्यावसायिक बाख्रापालनबाट आम्दानी गर्दै दसैँ खर्चको व्यवस्था गरेका छन्। नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत उनीहरूले यस वर्ष हालसम्म ६०० खसीबोका बिक्री गरेका छन्।
सहकारीकी अध्यक्ष गङ्गा शाहका अनुसार महिला किसानले हुर्काएका खसीबोका सहकारीमार्फत तौल गरेर बिक्री गर्ने व्यवस्था मिलाइएको छ। यस वर्षको दसैँ–तिहारमा एक हजार ५०० खसीबोका बिक्री गर्ने लक्ष्य राखिएको उनले जानकारी दिइन्।

“महिला दिदीबहिनीले हुर्काएका खसीबोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण गर्ने गरेका छौँ,” अध्यक्ष शाहले भनिन्।

व्यावसायिक रूपमा बाख्रापालनमा लागेका महिलाले खसीबोका तौलका आधारमा बिक्री गर्दै आएका छन्। महिलाले व्यावसायिक बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनसमेत बढेको शाहको भनाइ छ। उनका अनुसार किसान महिलाले अहिले वर्षमा १० देखि १२ वटासम्म खसी बिक्री गर्न थालेका छन्।

सहकारीले बजार खोजिदिएपछि किसानलाई सहज

गाउँमा महिला समूहमा आबद्ध किसानले घरमै पालेका खसीबोकाको बजार व्यवस्थापन सहकारीले गर्न थालेपछि उनीहरूलाई बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने झन्झट हटेको छ। साथै, बजारमा ठगिने समस्या पनि कम भएको सहकारीकी अध्यक्ष शाहले बताइन्।

सहकारीकी व्यवस्थापक दिव्या गुरुङका अनुसार यहाँका किसान महिलाले प्रत्येक वर्ष दसैँ–तिहारका बेला उल्लेख्य सङ्ख्यामा खसीबोका बिक्री गरी चाडपर्वको खर्च जुटाउँदै आएका छन्।

विगतमा बाँकेको कचनापुर, महादेवपुरी र फत्तेपुरलगायतका गाउँका महिलाले उत्पादन गरेका खसीबोका सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौंसहित विभिन्न जिल्लामा बिक्री हुँदै आएका थिए। अहिले भने फत्तेपुरस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले नै बिक्री वितरणको जिम्मेवारी सम्हाल्दै आएको छ।

प्रतिकिलो ६०० रुपैयाँमा खरिद, ५० रुपैयाँ बढाएर बिक्री

व्यवस्थापक गुरुङका अनुसार दसैँ–तिहारमा अन्य समयको तुलनामा खसीबोकाको माग बढी हुने भएकाले बिक्री पनि बढ्ने गरेको छ।

सहकारीले किसानबाट प्रतिकिलो ६०० रुपैयाँका दरले खसीबोका खरिद गरी व्यापारीलाई प्रतिकिलो ६५० रुपैयाँमा बिक्री गर्दै आएको उनले जानकारी दिइन्। यस व्यवस्थाले किसानलाई आफ्नो उत्पादन बिक्री गर्न सहज भएको छ भने सहकारीमार्फत बजार व्यवस्थापन पनि भइरहेको छ।

एक हजार ५० किसान महिला सहकारीमा आबद्ध

सहकारीमार्फत गठन गरिएका ५९ वटा समूहमा एक हजार ५० किसान महिला आबद्ध छन्। तीमध्ये करिब ६०० महिलाले बाख्रापालन गर्दै आएका छन्।

व्यवस्थापक गुरुङका अनुसार सहकारीले खसीबोका बिक्री तथा बजार व्यवस्थापनसँगै बाख्रापालन व्यवसाय विस्तार गर्न किसानलाई ऋणसमेत उपलब्ध गराउँदै आएको छ।

सहकारीको यो पहलले ग्रामीण महिलालाई व्यावसायिक पशुपालनमा जोड्नुका साथै आफ्नै उत्पादनबाट आम्दानी गर्ने अवसर प्रदान गरेको छ। दसैँ–तिहारको समयमा खसीबोकाको बढ्दो मागले किसान महिलालाई थप आम्दानी गर्ने अवसरसमेत दिएको छ।