ओमानमाथि नेपालको सनसनीपूर्ण जित, लिग-२ मा छैटौँ स्थान पक्का

ओमानमाथि नेपालको सनसनीपूर्ण जित, लिग-२ मा छैटौँ स्थान पक्का

काठमाडौं । बलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा घरेलु टोली ओमानलाई १० रनले पराजित गरेको छ। सोमबारको जितसँगै नेपालले लिग–२ को अंकतालिकामा छैटौँ स्थान पक्का गरेको छ।

ओमानको अल अमेरतस्थित ग्राउन्ड टर्फ–१ मा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो।

ओमानका लागि जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। ३२ रनमा पहिलो विकेट गुमाएको ओमानका लागि जतिन्दर र हम्मादले दोस्रो विकेटका लागि १५८ रनको उत्कृष्ट साझेदारी गरेका थिए।

१९० रनमा दोस्रो विकेट लिएपछि नेपालले खेलमा पुनरागमन गरेको थियो। त्यसको १३ रनपछि अर्को विकेट लिएको नेपालले ओमानलाई दबाबमा राख्यो। २०३–३ र २०६–४ को अवस्थाबाट कप्तान विनायक शुक्ला आउट हुँदा ओमानको स्कोर २२४–५ पुगेको थियो। त्यसपछि सन्जु सजिव रनआउट भएपछि ओमान २३२–६ को अवस्थामा पुग्यो।

त्यसपछि हस्नैन शाहले आक्रामक ब्याटिङ गर्दै ओमानको जितको सम्भावना कायम राखे। उनले २३ बलमा अविजित ४० रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।

अन्तिम ओभरमा दीपेन्द्रको उत्कृष्ट बलिङ

ओमानलाई अन्तिम ओभरमा जितका लागि २३ रन आवश्यक थियो। नेपालका तर्फबाट दीपेन्द्रसिंह ऐरी बलिङमा आए। पहिलो बलमा हस्नैनले दुई रन लिए भने त्यसपछि लगातार दुई चौका प्रहार गरे। त्यसपछि तीन बलमा १३ रन आवश्यक भएको थियो।

चौथो बलमा दुई रन जोडिएपछि ओमानलाई अन्तिम दुई बलमा ११ रन चाहिएको थियो। तर दीपेन्द्रले पाँचौँ बल डट राखे। अन्तिम बलमा पनि हस्नैनले रन जोड्न नसकेपछि नेपालले रोमाञ्चक जित सुनिश्चित गर्‍यो।

रोहित, दीपेन्द्र र देवको अर्धशतक

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले देव खनाल, रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो।

नेपालका लागि रोहितले ८१ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ८० रन बनाए। दीपेन्द्रले ६२ बलमा तीन चौका र चार छक्काको मद्दतमा ६९ रन जोडे। ओपनर देव खनालले ६५ बलमा चार चौका र एक छक्कासहित ५७ रन बनाए।

नेपालले ९९ रनमा तीन विकेट गुमाइसकेको अवस्थामा रोहित र दीपेन्द्रले चौथो विकेटका लागि १३९ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। उनीहरूको साझेदारीले नेपाललाई बलियो योगफलतर्फ अघि बढाएको थियो।

तर, २३८–३ को स्थितिमा पुगेको नेपालले त्यसपछि लगातार विकेट गुमाउँदै २८० रनमा सबै विकेट गुमायो। अन्तिमतिर बसिर अहमदले सात बलमा दुई चौका र एक छक्कासहित १७ रन जोड्दै टोलीको स्कोर बढाए।

ओमानका शाह फैसलले आठ ओभरमा ५७ रन खर्चेर पाँच विकेट लिए। जय ओडेराले तीन तथा समय श्रीवास्तवले दुई विकेट हात पारे।

जितसँगै नेपाल छैटौँ स्थानमा

लिग–२ को अंकतालिकामा शीर्ष ६ भित्र रहन नेपाललाई ओमानविरुद्धको खेल जित्नैपर्ने दबाब थियो।

प्रतियोगिताका सुरुआती दुई खेलमा नेपालले क्यानडा र ओमानलाई पराजित गरेको थियो। तर, शनिबार क्यानडासँग पराजित भएपछि नेपालको शीर्ष ६ मा रहने सम्भावना कमजोर बनेको थियो।

नेपालसँगको खेलअघि क्यानडाले ३६ खेलमा २९ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको थियो भने ३५ खेलमा २८ अंक रहेको नेपाल सातौँ स्थानमा झरेको थियो।