आरुघाटको क्षतिग्रस्त पुलमा बेलिब्रिज जडान, यातायात सञ्चालनको तयारी

आरुघाटको क्षतिग्रस्त पुलमा बेलिब्रिज जडान, यातायात सञ्चालनको तयारी

गोरखा । बूढीगण्डकी नदीको बाढीले क्षति पुर्‍याएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलको भत्किएको भागमा बेलिब्रिज जडान गरिएको छ। निर्माण सम्पन्न भएसँगै अवरुद्ध यातायात सेवा पुनः सञ्चालन गर्ने तयारी गरिएको छ।

बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको थियो। यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने उद्देश्यले नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज निर्माण गरिएको हो।

बेलिब्रिज निर्माण सम्पन्न भएपछि आजदेखि दुईपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ। त्यसैगरी, भोलिदेखि चारपाङ्ग्रे सवारीसाधनसमेत सञ्चालन गरिने जनाइएको छ।

बेलिब्रिज जडानसँगै बाढीका कारण अवरुद्ध आरुघाट सडकखण्डमा यातायात सेवा सहज हुने अपेक्षा गरिएको छ। यसबाट गोरखा र धादिङबीच आवतजावत गर्ने स्थानीय बासिन्दा तथा यात्रुलाई राहत पुग्नेछ।