

उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए। सोमबार बिहान नेपालखबरसँग कुरा गर्दै उनले अहिलेसम्म बेपत्ताहरूको अवस्था पत्ता लाग्न नसकेको बताएका छन्।
दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १९ वर्षीया दिव्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तिका विश्वकर्मा रहेका छन्।
स्थानीय जनक राईका अनुसार युपना र दिव्या काठमाडौंमा बसेर अध्ययनसँगै सामान्य रोजगारी गर्दै आएका थिए। स्वस्तिका भने काठमाडौंमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी गरिरहेकी थिइन्।
दुर्घटनामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका १३ वर्षीय अङ्कित विश्वकर्मा र सुमो चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा घाइते भएका छन्।
प्रहरीका अनुसार चालक आशिष बेहोस अवस्थामा छन् भने सम्झनाको अवस्था गम्भीर छ। स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सम्झनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। शिवानी र अङ्कितको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिए।
प्रहरीका अनुसार उक्त सुमो शनिबार राति करिब ११ बजे काठमाडौंंबाट खोटाङका लागि प्रस्थान गरेको थियो। चालकसहित १० जना सवार सुमो आइतबार बिहान सुनकोसी नदीमा खसेको हो।
घटनास्थल पुगेका प्रहरी अधिकारीहरूले चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन्। दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ।