

काठमाडौं । विभिन्न देशका लागि सरकारले सिफारिस गरेका १३ जना राजदूतको संसदीय सुनुवाइ सकिएको छ। सोमबारदेखि सुरु भएको सुनुवाइ बुधबार सम्पन्न भएको हो।
मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले १३ देशका लागि राजदूत सिफारिस गरेको थियो। सुनुवाइ सकिए पनि उनीहरूको अनुमोदन हुन बाँकी छ। अहिले संसदीय सुनुवाइ समितिमा अनुमोदनसम्बन्धी विषयमा छलफल भइरहेको छ।
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई राजदूतमा सिफारिस गरेको थियो।
त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको थियो।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि प्रस्तावित राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढ्नेछ।