एयर इन्डियाको विमानमा अपहरणको सुरक्षा सङ्केत, जयपुरमा आपत्कालीन अवतरण

एयर इन्डियाको विमानमा अपहरणको सुरक्षा सङ्केत, जयपुरमा आपत्कालीन अवतरण

काठमाडौँ । जर्मनीको फ्र्याङ्कफर्टबाट भारतको नयाँदिल्लीका लागि उडेको एयर इन्डियाको विमानमा अपहरणसम्बन्धी सुरक्षा सङ्केत सक्रिय भएपछि राजस्थानको जयपुर अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार एयर इन्डियाको उडान सङ्ख्या एआई-२०३० को विमान बुधबार बिहान जयपुर विमानस्थलमा अवतरण गरिएको हो।

समाचारअनुसार विमानका पाइलटले केही सेकेन्डका लागि सम्भावित अपहरण वा गैरकानुनी हस्तक्षेपको सङ्केत दिने विशेष ट्रान्सपोन्डर कोड सक्रिय गरेपछि सुरक्षा निकाय सतर्क भएका थिए। यद्यपि, विमान अपहरण भएको पुष्टि भने भएको छैन। विमानमा सवार सबै यात्रुलाई सकुशल ओरालिएको बताइएको छ।

फ्र्याङ्कफर्टबाट नयाँदिल्लीका लागि उडिरहेको विमानबाट पठाइएको सुरक्षा सतर्कताको सूचना अहमदाबाद एयर ट्राफिक कन्ट्रोलले प्राप्त गरेको थियो। पाइलटले केही सेकेन्डका लागि ‘स्क्वाक ७५००’ कोड सक्रिय गरेलगत्तै भारतीय सुरक्षा निकाय परिचालित भएका थिए।

विमान र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै उडानलाई नयाँदिल्लीको सट्टा जयपुरतर्फ मोडिएको थियो। हिन्दुस्तान टाइम्सका अनुसार विमानलाई जयपुरमा सुरक्षित रूपमा आपत्कालीन अवतरण गराइएको हो।

के हो ‘स्क्वाक ७५००’ कोड?

नागरिक उड्डयन क्षेत्रमा ‘स्क्वाक ७५००’ विमान अपहरण वा गैरकानुनी कब्जाको सङ्केत दिन प्रयोग गरिने विशेष ट्रान्सपोन्डर कोड हो। विमानको सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको अवस्थामा पाइलटले यो कोड सक्रिय गर्न सक्छन्।

जयपुर विमानस्थलमा अवतरण गरेपछि विमानलाई अन्य नियमित उडान तथा सर्वसाधारणबाट टाढा राखिने छुट्टै सुरक्षित क्षेत्र अर्थात् ‘आइसोलेसन वे’ मा लगिएको थियो।

घटनापछि नागरिक उड्डयन महानिर्देशनालय, एयर ट्राफिक कन्ट्रोल तथा केन्द्रीय सुरक्षा निकायका टोलीले विमानको प्राविधिक र सुरक्षा जाँच सुरु गरेका छन्। विमानमा सवार सबै यात्रु सुरक्षित रहेको बताइएको छ।