नेप्सेमा लगातार चौथो दिन वृद्धि, परिसूचक २,५९९ विन्दुमाथि

नेप्सेमा लगातार चौथो दिन वृद्धि, परिसूचक २,५९९ विन्दुमाथि

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.१२ अंकले बढेर २,५९९.९३ विन्दुमा पुगेको छ। पछिल्ला तीन कारोबार दिनदेखि लगातार बढिरहेको नेप्सेले मंगलबार पनि वृद्धिको क्रमलाई निरन्तरता दिएको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स २.३५ अंकले बढेको छ। त्यस्तै, फ्लोट इन्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८४ अंकले वृद्धि भएका छन्।

नेप्से परिसूचकसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन ३५१ वटा कम्पनीका १ करोड ३५ लाख ५३ हजार कित्ता सेयर ४६ हजार ६५९ पटकको कारोबारमार्फत खरिदबिक्री भएका छन्।

सगरमाथा जलविद्युत्को सेयरमूल्यमा सर्वाधिक वृद्धि

मंगलबार सगरमाथा जलविद्युत् कम्पनीको सेयरमूल्य सर्वाधिक १२.४४ प्रतिशतले बढेको छ। अन्य कम्पनीको सेयरमूल्यमा भएको वृद्धि भने ५ प्रतिशतभन्दा कम रहेको छ।

यस दिन स्नो रिभर्सको सेयरमूल्य नकारात्मक सर्किट स्तरमा कारोबार भएको छ। कम्पनीको सेयरमूल्य १४९ रुपैयाँ ९० पैसाले घटेर अन्तिम कारोबार ८४९ रुपैयाँ ४० पैसामा भएको छ। त्यस्तै, धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य पनि करिब १३ प्रतिशतले घटेको छ।

घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३६ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, माउन्टेन इनर्जीको करिब २६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ भने कुमारी बैंकको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ।

माउन्टेन इनर्जीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।

१३ मध्ये पाँच उपसमूह बढे

नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.७७ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ, विकास बैंक, लगानी र निर्जीवन बीमा उपसमूहका परिसूचकमा सामान्य वृद्धि देखिएको छ। बाँकी आठ उपसमूह भने घटेर बन्द भएका छन्।