

काठमाडौं । गत असोज ११ गतेको भारी वर्षापछि आएको बाढीपहिरो र नदी कटानका कारण बेनी-जोमसोम सडक अवरुद्ध भएपछि दुई साताको अवधिमा कोरलानाकाबाट २ हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन्। तर, सडकको अवस्था सहज नहुँदा ती सवारीसाधन गन्तव्यसम्म पुग्न सकेका छैनन्।
शुक्रबार साँझदेखि सडक सञ्चालनमा आए पनि अवस्था अझै सहज नभएकाले कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारीसाधन मुस्ताङमै रोकिएका छन्। सडक पूर्ण रूपमा सञ्चालनयोग्य नभएकाले सवारीसाधन गन्तव्यतर्फ पठाउन नसकिएको सम्बन्धित प्रतिनिधिहरूले बताएका छन्।
नेपाल-चीन उत्तरी कोरलानाकाअन्तर्गत लोमान्थाङ गाउँपालिका-४, न्हेचुङस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) का अनुसार कोरलानाकाको खुला पठार र न्हेचुङस्थित मुस्ताङ भन्सार यार्डमा २ हजारभन्दा बढी विद्युतीय सवारीसाधन पार्किङ गरी राखिएका छन्।
कोरलास्थित बीओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार कोरलानाकाको दशगजा क्षेत्रमा विभिन्न कम्पनीका २ हजारभन्दा बढी र भन्सार यार्डमा २०० भन्दा बढी विद्युतीय गाडी पार्किङमा छन्।
त्यसैगरी, कोरलानाकाबाट भन्सार जाँचपास गरी जोमसोम झारिएका ५०० भन्दा बढी विद्युतीय सवारीसाधन जोमसोमका दुईवटा पार्किङस्थलमा राखिएका छन्।
बेनी–जोमसोम सडक सञ्चालनमा आए पनि अवस्था अझै नाजुक रहेकाले जोमसोम आइपुगेका विद्युतीय सवारीसाधन गन्तव्यतर्फ पठाउन नसकिएको बिवाइडी कम्पनीको खरिदकर्ता साइमेक्स इङ्कका प्रतिनिधि दीपक बुढाथोकीले जानकारी दिए।
उनका अनुसार भारी वर्षाका कारण सडक अवरुद्ध भएयता बिवाइडीका विभिन्न मोडलका २ हजारभन्दा बढी गाडी मुस्ताङमै रोकिएका छन्। कोरलानाकाबाट भित्रिएका गाडी गन्तव्यतर्फ पठाउन आएका बुढाथोकीले साना गाडीलाई समेत गन्तव्यसम्म पुर्याउन कठिनाइ भइरहेको बताए।
उनका अनुसार जोमसोम बसपार्क र जोमसोमस्थित भन्सार कार्यालयको पार्किङस्थलमा ती गाडी राखिएका छन्। असोज ११ गतेअघि बिवाइडीका करिब ४५० गाडी गन्तव्यतर्फ पठाइएको भए पनि त्यसपछि भित्रिएका सवारीसाधन सडकको खराब अवस्थाका कारण पठाउन समस्या भएको उनले बताए।
रसुवा र तातोपानी नाका बन्द भएपछि साइमेक्स इङ्कले कोरलानाकाबाट ३ हजारभन्दा बढी विद्युतीय गाडी नेपाल भित्र्याउने योजना बनाएको पनि बुढाथोकीले जानकारी दिए।
यसैबीच, प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सोमबारसम्म कोरलानाकाबाट आयात गरिएका मालवस्तु बोकेका ६०० भन्दा बढी कन्टेनर जिल्लाबाट गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्। जिल्लामा रोकिएका कन्टेनर बाहिरिएसँगै मालवस्तु ढुवानीका लागि केही खाली कन्टेनर कोरलानाकातर्फ उकालो लागेको उनले बताए।