

काठमाडौं । हरेक वर्षको दसैँ नेपाली चलचित्रका लागि ठूलो व्यापारिक समय मानिन्छ। दसैँको लामो बिदालाई लक्षित गर्दै एकै समयमा दुई वा तीनवटा चलचित्र प्रदर्शनमा आउने क्रम यस वर्ष पनि निरन्तर रहने भएको छ।
गत वर्ष दसैँमा ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ प्रदर्शनमा आएका थिए। त्यसअघि ‘छक्का पञ्जा-५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ दसैँको अवसर पारेर रिलिज भएका थिए। यस वर्ष पनि दसैँको बिदालाई लक्षित गर्दै तीनवटा चलचित्र प्रदर्शनमा आउने भएका छन्। कात्तिक ६ गते प्रदर्शनमा आउने चलचित्रलाई पनि दसैँकै रिलिजमा समेट्ने हो भने यसपटक चारवटा चलचित्र दर्शकमाझ आउनेछन्।
असोज ३० गते शुक्रबार ‘१२ गाउँ-२’ र ‘आ बाट आमा-२’ प्रदर्शनमा आउनेछन्। त्यस्तै, असोज ३१ गते फूलपातीका दिन ‘६ माया छपक्कै-२’ रिलिज हुँदैछ। यसपछि कात्तिक ६ गते ‘कबड्डी-५’ प्रदर्शनमा आउनेछ।
दसैँको बिदालाई लक्षित गरी असोज ३० र ३१ गते प्रदर्शनमा आउने तीनवटै चलचित्र संयोगले दोस्रो सिक्वेल हुन्। ‘१२ गाउँ-२’लाई विराज भट्टले निर्देशन गरेका छन्। चलचित्रमा विराज भट्ट स्वयं र समीर भट्ट मुख्य भूमिकामा छन्।
त्यस्तै, ‘आ बाट आमा-२’ चन्द्र पन्तको निर्देशनमा बनेको हो। चलचित्रमा पल शाह, मलिका महत र विपना थापा मुख्य भूमिकामा छन्। ‘६ माया छपक्कै-२’लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन्। चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई प्रमुख भूमिकामा छन्।
यता, कात्तिक ६ गतेबाट प्रदर्शनमा आउने ‘कबड्डी-५’लाई रामबाबु गुरुङले निर्देशन गरेका छन्। चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ र विपीन कार्की मुख्य भूमिकामा छन्। यसैबीच, दसैँमै प्रदर्शन हुने भनिएको चलचित्र ‘बाटुलो जून’को रिलिज मिति पछि सारिएको छ। उक्त चलचित्र अब कात्तिक २६ गते प्रदर्शनमा आउने भएको छ। त्यस्तै, ‘डबल ट्रिपल’ पनि दसैँमै प्रदर्शनमा आउने चर्चा भए पनि हालसम्म यसको आधिकारिक रिलिज मिति तय भएको छैन।