

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ११.७७ अंकले बढेर २ हजार ६२९.८१ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स १.५५ अंक, फ्लोट इन्डेक्स ०.७९ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५५ अंकले बढेका छन्।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। बिहीबार २७८ कम्पनीका १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयर ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ। अघिल्लो कारोबार दिन बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
बिहीबार नेपाल ल्युब आयलको सेयर मूल्य सर्वाधिक १२.४७ प्रतिशतले बढेको छ। त्यस्तै सोनापुर मिनरल्स, कुमारी सबल योजना र घोराही सिमेन्टको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ।
यता मिड सोलु हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ११.५८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन डिस्टिलरीको ३५ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यस दिन नेप्सेका १३ वटै उपसमूह कारोबारमा आएका छन्। तीमध्ये १२ उपसमूहको सूचक बढ्दा निर्जीवन बीमा उपसमूहको सूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सर्वाधिक १.८३ प्रतिशतले बढेको छ। त्यस्तै जीवन बीमा, बैंकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, लघुवित्त, अन्य तथा व्यापार उपसमूहका सूचक पनि बढेर बन्द भएका छन्।