

नागोया (जापान) । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४-२४ ले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो।
सेमिफाइनलमा पुगेपछि नेपालले कम्तीमा कांस्य पदक पक्का गरेको छ। एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनल पुग्ने टोलीले पदक प्राप्त गर्ने प्रावधान छ।
तोकाई सिटिजन जिम्न्यासियममा भएको खेलमा नेपालले पहिलो हाफमा १९–१३ को अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि नेपालले आफ्नो अग्रता कायम राख्दै खेल जितेको हो।
समूह ‘बी’मा रहेको नेपालले यसअघि पहिलो खेलमा थाइल्यान्डलाई ४६-४३ ले हराएको थियो भने चाइनिज ताइपेइसँग ३७-१८ ले पराजित भएको थियो। यससँगै नेपालले समूह चरणमा दुई जितसहित सेमिफाइनल यात्रा तय गरेको हो।
समूह ‘बी’बाट नेपालसँगै चाइनिज ताइपेइ पनि सेमिफाइनलमा पुगेको छ। श्रीलंका र थाइल्यान्ड भने समूह चरणबाट बाहिरिएका छन्।
यसअघि हाङ्झोउमा भएको १९औँ एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। नेपालको सेमिफाइनल खेल शुक्रबार हुनेछ। प्रतियोगिताको तालिकाअनुसार महिला कबड्डीका दुई सेमिफाइनल खेल सोही दिन हुनेछन्।