सामुदायिक विद्यालयमै आवासीय सुविधा, अनाथ र विकट क्षेत्रका विद्यार्थीलाई निःशुल्क पठनपाठन

सामुदायिक विद्यालयमै आवासीय सुविधा, अनाथ र विकट क्षेत्रका विद्यार्थीलाई निःशुल्क पठनपाठन

-पुरुषोत्तम सुवेदी-

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीका सात स्थानीय तहमध्ये बर्दघाट नगरपालिकाले जिल्लामै पहिलोपटक सामुदायिक विद्यालयमा आवासीय सुविधासहितको पठनपाठन सुरु गरेको छ।

नगरपालिकाले अति विपन्न, अभिभावकविहीन (अनाथ) तथा भौगोलिक रूपमा विकट क्षेत्रका विद्यार्थीलाई लक्षित गरी आवासीय कार्यक्रम सञ्चालनमा ल्याएको हो। कार्यक्रमअन्तर्गत विद्यार्थीलाई विद्यालयमै आवास, भोजन तथा आवश्यक लत्ताकपडासहितको सुविधा उपलब्ध गराइएको छ।

नगरपालिकाको स्वीकृत ‘सामुदायिक विद्यालयमा आवासीय कार्यक्रम सञ्चालन मापदण्ड, २०८३’ बमोजिम चालु शैक्षिक सत्रदेखि कक्षा ६ देखि १२ सम्मका लक्षित विद्यार्थीका लागि कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो।

हाल बर्दघाट नगरपालिका-१० स्थित राजापूर्णभद्र माध्यमिक विद्यालयमा आवासीय कार्यक्रम सञ्चालन भइरहेको छ। विद्यालयमा अहिले ३० जना विद्यार्थी पूर्ण आवासीय सुविधासहित अध्ययनरत छन्।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले आर्थिक अवस्था कमजोर तथा भौगोलिक विकटताका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।

उनले भने, “हाम्रो नगरभित्र भौगोलिक विकटता वा पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहुन् भन्ने हाम्रो मुख्य उद्देश्य हो।”

विशेषगरी बर्दघाट नगरपालिका-२ लगायतका पहाडी तथा विकट क्षेत्रका विद्यार्थी र अभिभावकविहीन बालबालिकालाई विद्यालयको पहुँचमा निरन्तर टिकाइराख्न आवासीय सुविधा महत्वपूर्ण हुने उनको भनाइ छ।

“विद्यार्थीहरूको खाना, बसोबास र लत्ताकपडाको सम्पूर्ण जिम्मेवारी सामुदायिक विद्यालयले बहन गर्छ। स्थानीय सरकार अभिभावकविहीन विद्यार्थीको अभिभावक बनेर उभिएको छ,” श्रेष्ठले भने।

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले कार्यक्रमलाई पारदर्शी, व्यवस्थित र नतिजामुखी बनाउन स्पष्ट मापदण्ड तयार गरिएको बताए।

उनका अनुसार छात्रावासमा बसोबास गर्ने विद्यार्थीको भौतिक सुरक्षा, स्वास्थ्य तथा पोषणयुक्त खानपानमा कुनै सम्झौता नहोस् भन्ने उद्देश्यले वास्तविक खर्चको भौचरका आधारमा मात्र रकम निकासा हुने व्यवस्था गरिएको छ।

कार्यक्रमले नगरभित्र विद्यालय छाड्ने दर (ड्रपआउट) शून्यमा झार्न तथा गुणस्तरीय शिक्षामा सबै विद्यार्थीको समान पहुँच सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने नगरपालिकाको अपेक्षा छ।