थाइल्यान्डमा नेपाली जडीबुटीको अन्तर्राष्ट्रिय बजार विस्तारबारे बीटुबी छलफल

थाइल्यान्डमा नेपाली जडीबुटीको अन्तर्राष्ट्रिय बजार विस्तारबारे बीटुबी छलफल

काठमाडौं । नेपाली जडीबुटी तथा आयुर्वेदजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार तथा व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले थाइल्यान्डमा बीटुबी बैठक तथा व्यावसायिक छलफल कार्यक्रम सम्पन्न भएको छ।

जडीबुटी व्यवसायी संघ नेपालसँग आबद्ध विभिन्न जडीबुटी व्यवसायी तथा उद्यमीको सहभागितामा भदौ ३ गते सम्पन्न कार्यक्रममा नेपाली मौलिक जडीबुटी, आयुर्वेदिक औषधि, कस्मेटिक, सुगन्धित तेल तथा अन्य प्राकृतिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने विषयमा छलफल गरिएको थियो।

जडीबुटी व्यवसायी संघ नेपालका अध्यक्ष विष्णु भण्डारीका अनुसार नेपाली व्यवसायीहरूले हिमाली तथा पहाडी क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी संकलन, प्रशोधन, प्याकेजिङ तथा स्वदेश र विदेशमा बिक्री–वितरण गर्दै आएका छन्।

नेपालमा पाइने यार्सागुम्बा, गुच्ची च्याउ, रातो च्याउ, टिमुर, अलैंची, चिराइतो, कुट्की, सतुवा, जटामसी, निरमसी र वन लसुनलगायतका जडीबुटी तथा तिनबाट उत्पादित सुगन्धित तेल र आयुर्वेदिक सामग्रीलाई विदेशी बजारमा विस्तार गर्ने संघको उद्देश्य रहेको भण्डारीले बताए।

बीटुबी बैठकका क्रममा नेपाली जडीबुटी व्यवसायी तथा थाइल्यान्डका व्यवसायी र सम्बन्धित पक्षबीच व्यापारिक सहकार्य, बजार विस्तार, उत्पादनको बजारीकरण, आयात–निर्यात तथा लगानीका सम्भावनाबारे छलफल गरिएको थियो। नेपालका जैविक तथा प्राकृतिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन यस्ता व्यावसायिक भेटघाट महत्वपूर्ण हुने संघले जनाएको छ।

कार्यक्रममा नेपालका विभिन्न जडीबुटी तथा आयुर्वेद व्यवसायमा संलग्न व्यवसायीहरूको सहभागिता रहेको थियो। सहभागी व्यवसायीहरूले जडीबुटी कच्चा पदार्थ, सुगन्धित तेल, आयुर्वेदिक औषधि, कस्मेटिक सामग्री, हर्बल उत्पादन तथा अन्य प्राकृतिक उत्पादनको उत्पादन, संकलन, प्रशोधन र निर्यात गर्दै आएको जानकारी दिइएको थियो।

कार्यक्रममा न्यू भण्डारी ट्रेडर्सका विष्णु भण्डारी, महालक्ष्मी आयुर्वेदिक औषधि उद्योग प्रालिका अजय धौब्डेल, श्री कन्हैया स्टोरका नवराज शर्मा, सेतीदेवी इन्टरप्राइजेज सप्लायर्सका बिक्रम कुँवर, गोपाल केन्सी स्टोर एन्ड सप्लायर्सका गोपाल चौलागाईं, कर्णाली अर्गानिक जडीबुटी सप्लायर्सका गोविन्द गिरी, सारदा मेटल इन्डस्ट्रिजका बासुदेव गुप्ता, राधाकृष्ण हर्बल स्टोरका कृष्णप्रसाद बन्जारा, हर्ब्स एन्ड अर्गानिक प्रालिका लोब्साङ शेर्पा, जम्बाला हर्बल प्रालिका धनबहादुर लामा, ओम कामना स्टोर एन्ड सप्लायर्सका पञ्चरत्न ज्यापु, ओम नमो बुद्ध कृषि फार्मका कृष्णराज तिमिल्सिना र लक्ष्मी माता दूध डेरीका हरिशरण सापकोटालगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी व्यवसायीहरूले नेपालका विभिन्न हिमाली तथा पहाडी क्षेत्रबाट संकलित जडीबुटी तथा प्राकृतिक कच्चा पदार्थलाई प्रशोधन र प्याकेजिङ गरी नेपालसँगै भारत, चीन, थाइल्यान्ड, अमेरिका, युरोप तथा जापानलगायतका बजारमा पुर्‍याउँदै आएको जानकारी प्रस्तुत गरिएको थियो।

कार्यक्रमका सहभागीलाई थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए।

संघले नेपालमा उपलब्ध बहुमूल्य जडीबुटीको व्यवस्थित उत्पादन, संकलन, प्रशोधन र अन्तर्राष्ट्रिय बजारीकरणमार्फत नेपाली जडीबुटी व्यवसायलाई थप व्यवस्थित तथा प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिएको छ। सरकारी निकाय, नेपाली दूतावास तथा विदेशी व्यवसायीसँग समन्वय गरी नेपाली उत्पादनका लागि नयाँ बजार खोज्ने र व्यापारिक सम्बन्ध विस्तार गर्ने योजना पनि संघले अघि सारेको जनाएको छ।

कार्यक्रमका अवसरमा थाइल्यान्डस्थित नेपाली दूतावाससँग आवश्यक समन्वय तथा सहयोगका लागि अनुरोधसमेत गरिएको थियो। नेपाली जडीबुटी तथा आयुर्वेद व्यवसायको प्रवर्द्धनमा योगदान पुर्‍याउने व्यवसायी तथा संस्थालाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने संघले जनाएको छ।

कार्यक्रमका मुख्य योजनाकार तथा संयोजक ओपनखबर मिडिया प्रालिका सञ्चालक मोहनकृष्ण अधिकारीले नेपालमा प्रशस्त मात्रामा उपलब्ध जडीबुटीलाई कच्चा पदार्थका रूपमा मात्र नभई प्रशोधन गरी उच्च मूल्यका उत्पादनमा रूपान्तरण गर्न सके यस क्षेत्रबाट ठूलो आर्थिक सम्भावना सिर्जना गर्न सकिने बताए।

अधिकारीले अन्तर्राष्ट्रिय बजारमा नेपाली जडीबुटीको पहिचान स्थापित गर्न व्यवसायी, सरकार र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए। आगामी दिनमा नेपालमा उत्पादित जडीबुटी तथा अन्य प्राकृतिक उत्पादनको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने र त्यसका लागि नेपाल सरकारबाट थप सहयोगको अपेक्षा रहेको उनले बताए।