

काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म १ हजार ४३४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आइतबार बिहान ११ बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ शव फेला परेका छन्।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलन गरी हालसम्म १ हजार २९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ गरी कुल ३ हजार २८३ वटा डीएनए नमुना संकलन गरिएको छ।
पहिचान हुन बाँकी १ हजार ३६२ शवको विवरण नेपाल प्रहरीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायत कार्यका लागि हालसम्म ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ। प्रहरीका अनुसार बाढीपछि अझै ४ हजार ६५५ जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।