कृष्णभीरमा नयाँ ट्र्याक बनेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

कृष्णभीरमा नयाँ ट्र्याक बनेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

चितवन । सडक भासिएर काठमाडौंसँगको सडक सञ्जाल अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएपछि राजमार्ग पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आज असोज १ गते बिहीबार बिहान ६ बजेदेखि कृष्णभीर खण्डमा दुवैतर्फ सवारीसाधन सञ्चालन हुन थालेका हुन्। भदौ १० र १४ गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक भासिएपछि यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको थियो।

सडक डिभिजन कार्यालयले कृष्णभीरमा नयाँ ट्र्याक निर्माण गरी सडक सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जारी गरेको सूचनामा उल्लेख छ।

राजमार्ग सञ्चालनमा आए पनि विभिन्न स्थानमा सडक भासिने, पहिरो जाने तथा ढुंगा–माटो खस्ने जोखिम अझै कायम रहेकाले चालक तथा यात्रुलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

विशेषगरी वर्षा भइरहेको समयमा वा सडकमा कुनै अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न, सडक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीको निर्देशन पालना गर्न र आधिकारिक सूचनाका आधारमा मात्र यात्रा तय गर्न प्रशासनले अनुरोध गरेको छ।