बंगालको खाडीमा बन्ने चक्रवातको प्रभाव नेपालमा पर्न सक्ने

बंगालको खाडीमा बन्ने चक्रवातको प्रभाव नेपालमा पर्न सक्ने

काठमाडौं । बंगालको खाडीमा विकास हुन सक्ने चक्रवात तथा त्यसबाट बन्ने मौसमी प्रणालीको प्रभाव नेपालमा समेत पर्न सक्ने मौसमविद्ले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार बंगालको खाडीमा अहिले न्यूनचापीय प्रणाली विकास हुने पूर्वानुमान रहे पनि चक्रवातको निश्चित स्वरूप भने बनिसकेको छैन।

उनका अनुसार बंगालको खाडीमा चक्रवात बनेर जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर हुँदै उत्तर–पश्चिमतर्फ सर्दा त्यसको परिधीय प्रभाव नेपालमा पर्न सक्छ। तर अहिले नै मौसमी प्रणाली पूर्ण रूपमा विकसित भइनसकेकाले नेपालमा पर्ने प्रभावको यकिन गर्न सकिने अवस्था नरहेको उनले बताए।

‘बंगालको खाडीमा साइक्लोन बन्ने र जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै उत्तर–पश्चिमतर्फ सर्दा नेपालमा पनि त्यसको प्रभाव पर्न सक्ने सम्भावना छ। तर अहिले सिस्टम बनिसकेको अवस्था छैन, बन्ने भन्ने पूर्वानुमान मात्रै हो,’ लामिछानेले भने।

नेपालमा उक्त मौसमी प्रणालीको प्रभाव कति रहने र कति वर्षा हुने भन्ने विषयमा अहिले नै निष्कर्ष निकाल्न नसकिने उनको भनाइ छ। मौसमी प्रणालीको विकासक्रमअनुसार प्रभावको मात्रा फरक पर्न सक्ने भएकाले विभागले निरन्तर अनुगमन गरिरहेको उनले जानकारी दिए।

मौसमविद् लामिछानेका अनुसार उक्त प्रणालीको प्रभाव नेपालमा चारदेखि पाँच दिनसम्म रहन सक्ने प्रारम्भिक अनुमान छ। असोज ५ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा बदली र हल्का वर्षाको सम्भावना रहे पनि केही क्षेत्रमा तुलनात्मक रूपमा बढी वर्षा हुन सक्ने उनले बताए।

उनका अनुसार चक्रवात भारतको भूभागमा रहेर त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने सम्भावना छ। तर यसको क्षतिको मात्रा वा कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने विषय प्रणाली विकास भएपछि मात्रै स्पष्ट हुँदै जानेछ।

विभागले मौसमी प्रणालीको अवस्था हेरेर विशेष बुलेटिन तथा चेतावनी नक्सामार्फत नियमित जानकारी गराउने जनाएको छ। सम्भावित प्रभावलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन पनि आग्रह गरिएको छ।

विशेषगरी अहिले धान भित्र्याउने समय भएकाले किसानलाई मौसम पूर्वानुमानअनुसार आवश्यक सावधानी अपनाउन मौसमविद् लामिछानेले सुझाव दिएका छन्।

बजारमा चक्रवातका कारण ठूलो वर्षा हुने चर्चा भए पनि अहिले नै प्रभावित क्षेत्र वा क्षतिको परिमाणबारे निष्कर्ष निकाल्न नसकिने उनले स्पष्ट पारेका छन्।