राधाष्टमी पर्व विविध कार्यक्रमसहित मनाइयो

राधाष्टमी पर्व विविध कार्यक्रमसहित मनाइयो

-एम अर्याल-

काठमाडौं । भगवान् श्रीकृष्णकी परम आराध्या श्री राधाजीको प्राकट्य दिवसका रूपमा मनाइने राधाष्टमी पर्व श्री राधा माधव समिति (रामास) नेपालअन्तर्गत देश तथा विदेशका विभिन्न सत्संग केन्द्रमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।

यस अवसरमा श्री राधा माधव समिति नेपाल, श्यामा श्याम धाम ठिमीमा त्रिदिवसीय साधना शिविर आयोजना गरिएको थियो। शिविरको समापन समारोहमा रामास नेपालका कार्यवाहक अध्यक्ष सुरेश प्रकाश आचार्यले साधकहरूलाई सेवा र साधनामा निरन्तर लाग्न प्रेरित गरे।

सो अवसरमा उनले जगद्गुरु श्री कृपालुजी महाराजले साधकहरूलाई जीवन क्षणभंगुर भएकाले समयको सदुपयोग गर्दै सेवा र साधनामा समर्पित हुन प्रेरणा दिएको स्मरण गर्दै साधकहरूलाई दिव्योपहारस्वरूप घडी प्रदान गरेका थिए।

हजारौँ साधकको सहभागिता रहेको कार्यक्रममा डिभाइन युथ क्लब नेपालका युवा साधकहरूले श्री राधाकृष्णका लीलामा आधारित सांस्कृतिक प्रस्तुति दिएका थिए।

त्यस्तै, अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) कोटेश्वर-जडिबुटीमा पनि राधाष्टमीका अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा महामन्त्र संकीर्तन तथा श्री राधाकृष्णको विग्रहमा अभिषेक गरिएको थियो।

सो अवसरमा हरे कृष्ण साधक हरिभक्त प्रभुले कलियुगमा नाम संकीर्तनको महत्त्वबारे प्रकाश पार्दै श्री राधारानीको प्राकट्य दिवसका अवसरमा उपस्थित भक्तजनलाई शुभकामना दिएका थिए। राधाष्टमीका अवसरमा विभिन्न सत्संग केन्द्रमा भजन, कीर्तन, पूजा, साधना तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका थिए।