

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएको छ। बाढीका कारण मुख्य सडक भासिएपछि निर्माण गरिएको नयाँ ट्र्याकमा असोज १ गतेदेखि पूर्णरूपमा सवारीसाधन सञ्चालन हुने भएको छ।
रसुवामा बाढी आएको चार दिनपछि भदौ १४ गते कृष्णभीरमा मुख्य सडक भासिएपछि सरकारले वैकल्पिक ट्र्याक निर्माण अघि बढाएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबार बिहानसम्म ट्र्याक निर्माणको काम सम्पन्न भएको हो।
प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जालमार्फत बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको र असोज १ गतेदेखि पूर्णरूपमा सवारी आवागमन सञ्चालन हुने जनाएको छ। नयाँ ट्र्याकमा यसअघि आइतबार केही सवारीसाधन परीक्षणका रूपमा सञ्चालन गरिएको थियो। परीक्षण सफल भएपछि नियमित यातायात सञ्चालनको तयारी तीव्र पारिएको हो।
नयाँ ट्र्याक निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार निर्माणको ११औँ दिन मंगलबारसम्म ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम अन्तिम चरणमा पुगेको थियो।
निर्माणको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११–१२ वटा उपकरण परिचालन गरिएको थियो। त्यसपछि आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्स्काभेटरसहित ५–६ वटा हेभी इक्युपमेन्ट प्रयोग गरिएको थियो। ट्र्याकमा नदीबाट प्राप्त गेग्रान प्रयोग गरी ग्राभेलिङ गरिएको हो।
अन्तिम चरणमा करिब ४०–५० जना दक्ष जनशक्ति तथा मजदुर परिचालन गरिएको थियो।
करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक निर्माण गरिएको छ। नालीसहित यसको कुल संरचना करिब साढे सात मिटर चौडा रहेको इन्जिनियर नेपालले बताए।
सडकको किनारमा ड्रेन निर्माण गरी पाइप राखिएको र त्यसलाई सुरक्षित गर्न माथिबाट थप ड्रेन संरचना निर्माण गरिएको छ। नयाँ ट्र्याक सञ्चालनमा आएपछि कृष्णभीरबाट अवरुद्ध पृथ्वी राजमार्ग हुँदै नियमित आवतजावत सहज हुने अपेक्षा गरिएको छ।