

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधानको अब हुने समीक्षा सीमान्तकृत तथा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन्।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले संविधान जीवन्त दस्तावेज भएकाले राजनीतिक अभ्यास र अनुभवका आधारमा यसको परिमार्जन तथा संशोधन हुन सक्ने बताएका हुन्।
‘संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ। तर, अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ,’ उनले सन्देशमा भनेका छन्।
लामिछानेले संविधानलाई अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको महत्वपूर्ण सामाजिक करारका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने उद्देश्य अझै पूर्ण रूपमा हासिल हुन बाँकी छ।
‘लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता तब मात्र सिद्ध हुन्छ, जब यसले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक यथार्थ बन्छन्,’ उनले भनेका छन्।
रास्वपाले सामाजिक लोकतन्त्रका माध्यमबाट नागरिकको जीवनमा सकारात्मक परिवर्तन र समाजमा न्याय स्थापित गर्ने उद्देश्य लिएको लामिछानेले उल्लेख गरेका छन्।
उनले विद्यमान कमजोरी र बेथितिलाई सच्याउँदै लोकतन्त्र तथा समावेशितालाई अझ बलियो बनाउने विषयमा विवेकपूर्ण बहसका लागि संविधान दिवसलाई उपयुक्त अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
बलियो राज्यका लागि बलिया संस्थाहरू आवश्यक पर्ने उल्लेख गर्दै लामिछानेले संविधान दिवसले राजनीतिक शक्ति, राज्यका निकाय तथा आम नागरिकलाई आ–आफ्ना स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन प्रेरणा देओस् भन्ने शुभकामना दिएका छन्।