निर्मल थापाको कविता संग्रह ‘जेन्जी काल’ को गृह विमोचन

निर्मल थापाको कविता संग्रह ‘जेन्जी काल’ को गृह विमोचन

नेपालगन्ज । प्रख्यात लेखक तथा साहित्यकार निर्मल कुमार थापाको कविता संग्रह ‘जेन्जी काल’ कृतिको नेपालगन्जमा गृह विमोचन गरिएको छ । थापाको कविता संग्रह ‘जेन्जी काल’ तीन महिना अघि विमोचन भएको थियो । नेपालगन्जमा शुक्रबार कालपृष्ठ दैनिकको आयोजनामा कृतिको विमोचन गरिएको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, आयोजक कालपृष्ठ दैनिकका प्रकाशक एवम् सम्पादक कमल खत्री, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, साहित्यकार खगेन्द्र गिरी कोपिला र लेखक थापाले संयुक्त रुपमा कृतिको विमोचन गर्नु भयो ।

‘जेन्जी काल’ कविता संग्रह २०८२ साल भाद्र २३ र २४ को जेन्ज आन्दोलन र त्यसपछिको मनोविज्ञानलाई कृतिमा समावेश गरिएको छ । लेखक निर्मल कुमार थापा नेपाली साहित्यमा लेखक, कवि तथा साँस्कृतिक अभियन्ताको भुमिका निर्वाह गरिरहनु भएको छ । अध्ययनको हिसाबले विद्यावारिधी गरेका थापाले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा समाज अध्ययनको अनुभव बटुल्नु भएको छ । उहाँका लेखनमा विशेषगरी कविता, कथा, निबन्ध, दर्शन तथा गैर आख्यान समावेश हुने गर्दछन् । लेखक, साहित्यकार, कवि तथा सांस्कृतिक अभियन्ता थापा कलर र नेपाल सेन्टर इन्टरनेशनलका संस्थापक हुनुहुन्छ । उहाँले नेपाली कला साहित्य र संस्कृतिलाई अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै आउनु भएको छ ।

शुक्रबार नेपालन्जमा कविता संग्रह ‘जेन्जी काल’ को विमोचन गर्दै प्रमुख अतिथी चौलागाईले पत्रकारिता क्षेत्र हुँदै साहित्य विधामा प्रवेश गर्नु भएका लेखक थापाले पश्चिम नेपाललाई अन्तराष्ट्रिय समुदाय सम्म पुर्याउने काम गर्नु भएको बताउनुभयो । उहाँले भन्नु भयो,‘ कविता संग्रह ‘जेन्जी काल’ नेपाली इतिहासमा एउटा दस्तावेजको रुपमा रहन सक्छ । यसले तत्कालिन अवस्थाको चित्रण गरेको छ । जेन्जी आन्दोलनमा देखिएका विविध पक्षलाई कविता संग्रह ‘जेन्जी काल’ले समेटने प्रयास गर्नु नेपाली इतिहास र साहित्यको लागि महत्वपुर्ण कुरा हो ।’

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले साहित्य र पत्रकारिता समाजको विकासमा लागि महत्वपुर्ण क्षेत्र भएको बताउनु भयो । साहित्य सृजना मार्फत थापाले गरेको योगदान पत्रकारिता क्षेत्रको लागि पनि गर्व गर्ने विषय भएको बताउनु भयो ।

कालपृष्ठ दैनिकका सम्पादक एवम् प्रकाशक कमल खत्री, साहित्यकार खगेन्द्र गिरी कोपिलाले कविता संग्रह ‘जेन्जी काल’ ले नेपाली समाजलाई सकारात्मक बाटोमा लग्न अभिप्रेरित गर्ने बताए ।

लेखक थापाले कविता संग्रह ‘जेन्जी काल’ कृति मार्फत जेन्जी आन्दोलन पछि देशको राजनीतिक, साँस्कृतिक र आर्थिक व्यवस्थालाई बुझाउने प्रयास गरेको बताउनु भयो ।
विगतका जनआन्दोलन, शसस्त्र आन्दोलनले ल्याएको लोकतन्त्रमा चुनिएका नेतृत्वले सहि व्यवस्था स्थापित गर्न नसकेको कारणले जेन्जी बिद्रोहको रुप लिएको बताउँदै सुन्दर नेपाल निर्माणमा सचेत नेपालीले योगदान गर्नु पर्ने बताउनु भयो । कविता संग्रह ‘जेन्जी काल’ कृति पढेर अबको पुस्ताले भ्रष्टतन्त्रको जालो च्यातेर सुसासन कायम गर्नको लागि आफूलाई तयार बनाउनुपर्ने उहाँले बताउनु भयो ।

थापाको साहित्यिक यात्रा कविता संग्रह ‘प्रभात फेरी सन्ध्या’बाट सुरु भएको हो जुन सन् २००५ मा प्रकाशित भएको थियो । विशेषगरी उहाँको लेखनमा दर्शन, अध्यात्म, समकालिन समाज र मानव जीवनका प्रश्नहरुको महत्वपुर्ण विषयमा केन्द्रित भएको देखिन्छ । हालसम्म २२ वटा कृति प्रकाशित गरिसकेका लेखक थापाको ‘प्रभात फेरी सन्ध्या’ कविता संग्रह, ‘एकादेश’ निवबन्ध साहित्यिक कृति, ‘एकालाप’ कथा निबन्ध र कविताको संयोजन, ‘एकान्त’ कथा र दर्शनको मिश्रण, ‘जय श्रीकुबेरनाथ’ कविता संग्रह लगायतका रहेका छन् ।

साहित्यकार थापालाई कालपृष्ठको सम्मान
थापालाई कार्यक्रमको आयोजक समेत रहेको कालपृष्ठ दैनिकले सम्मान पत्र सहित सम्मान समेत गरेको थियो । नेपालगन्जमा भएको कविता संग्रह ‘जेन्जी काल’ को विमोचन समारोहमा कालपृष्ठ दैनिकका प्रकाशक एवम् सम्पादक कमल खत्रीले लेखक तथा साहित्यकार थापालाई सम्मान गर्नु भएको हो । नेपाली साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा थापाले पु¥याउनु भएको योगदानसँगै सिर्जनशील लेखन तथा साहित्यिक गतिविधिमार्फत नेपाली समाजको विकासमा गरेको योगदानको कारण थापालाई सम्मान गरिएको आयोजकले जनाएको छ ।