

काठमाडौं । जापानको आइची–नागोया सहरमा आज २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदैछ। एसियाका ४५ देशका खेलाडी, प्रशिक्षक तथा अधिकारी सहभागी प्रतियोगिताको उद्घाटन समारोह नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा हुनेछ।
स्थानीय समयअनुसार साँझ ६ बजे सुरु हुने उद्घाटन समारोहको मुख्य अवधारणा ‘हार्ट विथ आइची नागोया’ रहेको आयोजकले जनाएको छ। आइची–नागोयाबाट सुरु हुने भावनालाई एसियाभरका खेलाडी र खेलप्रेमीको उत्साहसँग जोड्दै ‘एक एसिया’को सन्देश दिने प्रयास समारोहमा गरिनेछ।
उद्घाटन समारोहको निर्देशन नागोयामा हुर्किएका जापानी फिल्म निर्देशक युकिहिको त्सुत्सुमीले गरेका छन्। स्थानीय संस्कृति र परम्परालाई एसियाली खेलकुदको अन्तर्राष्ट्रिय स्वरूपसँग जोडेर विभिन्न सांस्कृतिक तथा कलात्मक प्रस्तुति तयार गरिएको छ।
समारोहअघि रंगशालामा विशेष ‘वार्मअप’ कार्यक्रम हुनेछ। आयोजकका अनुसार दर्शकको पहिचान जाँच दिउँसो १ बजेबाट सुरु हुनेछ भने रंगशालाको प्रवेशद्वार १ः३० बजे खुल्नेछ। वार्मअप कार्यक्रम ४ बजेबाट सुरु हुनेछ।
उद्घाटन समारोहमा सहभागी राष्ट्रका प्रतिनिधिमण्डलको मार्चपाससँगै विभिन्न सांस्कृतिक प्रस्तुति हुनेछन्। एसियाली एकता, मित्रता तथा खेलकुदको भावना झल्काउने कार्यक्रमसँगै खेलाडी र निर्णायकको शपथ, एसियाली खेलकुदको झन्डा तथा ज्योति प्रज्वलनलगायत औपचारिक कार्यक्रम हुनेछन्।