विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायू श्रेष्ठ नियुक्त

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायू श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि प्राधिकरणमा निमित्त तथा कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठलाई अब पूर्ण कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो। उनी यसअघि वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक थिए।

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ल्याएपछि तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदमुक्त भएका थिए। त्यसपछि श्रेष्ठलाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो।

श्रेष्ठ प्राधिकरणमा लामो समयदेखि प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा कार्यरत रहँदै आएका छन्। उनले २०५४ सालमा प्राधिकरणमा सातौँ तहको अधिकृतका रूपमा सेवा प्रवेश गरेका थिए। इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरेका श्रेष्ठले उत्पादन, प्रसारण, वितरण तथा ऊर्जा व्यवस्थापनका विभिन्न क्षेत्रमा काम गरेका छन्।