संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता : राष्ट्रपति पौडेल

संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना, विधिको शासन र जबाफदेही प्रशासन आजको प्रमुख आवश्यकता रहेको बताएका छन्।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले निर्दिष्ट गरेका व्यवस्थाको पूर्ण परिपालनाबाट सुदृढ, सभ्य र जबाफदेही प्रशासन निर्माण गर्नुपर्ने बताएका हुन्।

उनले आम नागरिकलाई विधिको शासनको प्रत्याभूति गराउँदै संविधानबाट प्राप्त अवसर तथा उपलब्धिको संरक्षण र संस्थागत गर्नुपर्नेमा जोड दिएका छन्।

‘आम नागरिकमा विधिको शासन प्रत्याभूत गर्न जरुरी छ। साथै, संविधानबाट प्राप्त अवसर र उपलब्धिहरू संरक्षण तथा संस्थागत गर्न एवं सुशासन र समृद्धितर्फ अगाडि बढ्न हामी सम्पूर्ण नेपालीहरूको साझा सहमति आजको आवश्यकता हो,’ राष्ट्रपति पौडेलले भनेका छन्।

उनले संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्ने बताएका छन्। संविधानले प्रत्याभूत गरेका सेवा–सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

‘आजको यस दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा मिलोस्,’ राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन्।