

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै उनले सरकार र दातृ निकायबाट प्राप्त स्रोतसाधन पुनःस्थापनामा परिचालन गरिने बताए ।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सडक सञ्जाल जतिसक्दो चाँडो पुनःस्थापना गर्न सरकार निरन्तर लागिरहेको बताए । सडक सञ्चालन भएपछि प्रभावितलाई सामान्य जीवनमा फर्किन सहज हुने उनको भनाइ छ ।
नदी तटीय क्षेत्रमा पुनः बस्ती बसाउँदा जोखिम बढ्ने भएकाले सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी भइरहेको उनले जानकारी दिए । रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोग्य जमिनको संरक्षणलाई ध्यान दिएर वैज्ञानिक रूपमा बस्ती व्यवस्थापन गरिने उनले बताए ।
सुरक्षित स्थानमा आवश्यक जग्गा पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्दै प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।