

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक २५.५५ अंकले बढेर २ हजार ५८५.०४ विन्दुमा पुगेको छ । अघिल्लो शुक्रबारको वृद्धिलाई निरन्तरता दिँदै बजार बढेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स ४.३४, फ्लोट इन्डेक्स १.८७ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५६ अंकले बढेका छन् ।
कारोबार रकम पनि बढेको छ । सोमबार ३३६ स्टकको ४९ हजार ७४ पटकको कारोबारमा १ करोड १५ लाख ९५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिन ४ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको थियो ।
इन्फिनिटी लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.४३ प्रतिशत बढेको छ भने त्रिशूली जलविद्युत र सिर्जनशील लघुवित्तको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ । उपकार लघुवित्तको शेयरमूल्य भने सर्वाधिक ८.२३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको २४ करोड ९० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने म्युचुअल फन्ड उपसमूह घटेको छ । वित्त उपसमूह सर्वाधिक १.६७ प्रतिशत बढेको छ ।