कांग्रेस इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने

कांग्रेस इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशन प्रक्रिया आफ्नै ढंगले अघि बढाउने निर्णय गरेको छ । सोमबार निवर्तमान सभापति शेरबहादुर देउवाको महाराजगञ्जस्थित निवासमा बसेको समूहको बैठकले केन्द्रीय कार्यालयको निर्णयअनुसार महाधिवेशनमा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो ।

संस्थापन पक्षको केन्द्रीय कार्यसम्पादन समितिले १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको थियो । तर इतर समूहले आफूहरू कुनै पदका लागि नभई पार्टी जोगाउने अभियानमा रहेको भन्दै उमाकान्त चौधरीले यसअघि प्रस्ताव गरेको महाधिवेशन कार्यतालिकालाई अघि बढाउने निर्णय गरेको जनाएको छ ।

बैठकपछि नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षको निर्णयबारे अनौपचारिक छलफल भएको बताए । उनले सोमबार अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत समूहको औपचारिक धारणा सार्वजनिक गरिने जानकारी दिए । यसैबीच, संस्थापन इतर समूहले सोमबार नै चुनदेवीस्थित सम्पर्क कार्यालयमा आकस्मिक बैठक बोलाएको छ ।