

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले समयमै स्वदेशी तथा विदेशी विज्ञ र प्राविधिकको सहयोग नलिँदा रसुवा र नुवाकोटको विपद्मा धेरैको ज्यान बचाउन नसकिएको आरोप लगाएका छन्।
शुक्रबार धनुषाको जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले रसुवा, भोटेकोसी र त्रिशूली क्षेत्रमा आएको विपद् सामान्य बाढी नभई ठूलो हिमाली प्रलयको स्वरूप भएको बताए। उनले यसलाई जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको गम्भीर असरको उदाहरणका रूपमा चित्रण गरे।
उनका अनुसार विपद्को प्रारम्भिक चार–पाँच दिनमै स्वदेशी तथा विदेशी विज्ञलाई परिचालन गरी उद्धार कार्यलाई व्यवस्थित रूपमा अघि बढाउन सके थप मानिसको ज्यान बचाउन सकिन्थ्यो।
“सरकारको उद्धार कार्य प्रभावकारी हुन सकेन । सुरुदेखि नै स्वदेशी तथा विदेशी विज्ञहरूको सहयोग लिएर व्यवस्थित रूपमा उद्धार गरिएको भए अझ धेरै मानिसको ज्यान बचाउन सकिन्थ्यो,” उनले भने, “१०–११ दिनपछि पनि मानिसहरू जीवित फेला परेका छन् । यसबाट उद्धारमा भएको कमजोरी स्पष्ट हुन्छ।”
विदेशी विज्ञहरूले सहयोग गर्ने इच्छा देखाउँदा समेत सरकारले समयमै पहल नगरी ‘हामी आफैँ गर्छौं’ भन्ने अहंकार देखाएको उनको आरोप छ। ११ दिनपछि समेत मानिस जीवितै फेला परेको घटनाले समयमै विशेषज्ञको सहयोग लिएको भए थप जीवन बचाउन सकिने अवस्था रहेको पुष्टि गर्ने उनले बताए।
विपद्का बेला सरकारले नागरिकसँग गरिरहेको व्यवहारसमेत अहंकारपूर्ण र मनोगत देखिएको प्रचण्डको टिप्पणी छ। यस्तो कार्यशैलीले सरकारले गम्भीर विपद्लाई प्रभावकारी रूपमा सम्हाल्न नसकेको देखिएको उनले बताए।
उनले अझै पनि बेपत्ताको खोजी, पीडितको राहत तथा पुनर्स्थापनालाई उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरे। साथै, विपद्का कारण ठूलो जनधनको क्षति भएको भन्दै राहत, उद्धार र पुनर्स्थापनामा सहयोग गर्न मधेस प्रदेशका जनतालाई अपिल गरे।
प्रचण्डले विपद्लाई जलवायु परिवर्तनसँग जोडेर नेपालले अन्तर्राष्ट्रिय समुदायबाट न्याय र सहयोग प्राप्त गर्नुपर्नेमा समेत जोड दिए।