प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी सेप्टेम्बर २४ (असोज ८ गते) संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन्।

परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहको सम्बोधनको कार्यतालिका तय भएको जानकारी दिएका हुन्।

उनका अनुसार संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत ‘हाई लेभल जनरल डिबेट’ सेप्टेम्बर २२ देखि २८ सम्म न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुँदैछ। उक्त बहसमा प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

महासभामा ८१ राष्ट्रका राष्ट्रप्रमुख र ५० देशका सरकार प्रमुख सहभागी हुने जानकारी संयुक्त राष्ट्रसंघबाट प्राप्त भएको परराष्ट्र सचिव राईले बताए।

प्रधानमन्त्री शाहले महासभामा नेपालमा गत वर्ष भएको जेनजी आन्दोलन, त्यसपछिको निर्वाचन तथा जनमतका आधारमा गठन भएको वर्तमान सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनेछन्। साथै अन्तर्राष्ट्रिय सहयोग तथा सद्भाव निरन्तरता र थप विस्तारका लागि आह्वान गर्ने तयारी रहेको छ।

प्रधानमन्त्रीले विशेष रूपमा जलवायु परिवर्तन र त्यसबाट नेपालले भोग्दै आएको विपद् तथा जनधनको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउनेछन्। नेपालले नगण्य मात्रामा कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनका कारण ठूलो क्षति व्यहोर्नुपरेको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाइने सचिव राईले बताए।

त्यस्तै, प्रधानमन्त्री शाहले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गर्नेछन्। नेपालले प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र, हिमालय तथा विशाल नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षणमा पुर्‍याउँदै आएको योगदानसमेत प्रस्तुत गर्ने तयारी गरिएको छ।

महासभाको अवसरमा नेपालले हिमालयमा जलवायु परिवर्तनको प्रभाव र त्यसबाट सिर्जित विनाशकारी परिणामबारे उच्चस्तरीय साइड इभेन्ट आयोजना गर्ने भएको छ। यसको उद्देश्य हिमालय क्षेत्रमा देखिएको जलवायु संकटबारे विश्व समुदायको ध्यानाकर्षण गर्नु रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले अति कम विकसित मुलुक, भूपरिवेष्टित विकासोन्मुख मुलुक तथा असंलग्न मुलुकलगायत विभिन्न मन्त्रिस्तरीय बैठकमा सहभागिता जनाउनेछन्।

त्यस्तै, उनले संयुक्त राष्ट्रसंघका उच्चस्तरीय छलफल तथा साइड इभेन्टमा सम्बोधन गर्नुका साथै छिमेकी तथा अन्य मुलुकका समकक्षी र संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले जानकारी दिए।