

काठमाडौं । नेपाली कांग्रेसका २५ नेताले पार्टीको आन्तरिक एकता कायम राख्न सभापति गगन थापासँग निर्णायक वार्ता तत्काल अघि बढाउन आग्रह गर्दै संयुक्त अपिल जारी गरेका छन्।
निवर्तमान सहमहामन्त्री डिना उपाध्यायसहित २५ नेताले जारी गरेको अपिलमा सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, रामहरि खतिवडा, नैनसिंह महरलगायत नेताहरूले हस्ताक्षर गरेका छन्।
नेपालको राष्ट्रियता र भूराजनीतिक परिस्थिति थप जटिल बन्दै गएकाले राष्ट्रिय एकता, लोकतन्त्र र संविधानको संरक्षणका लागि प्रमुख राजनीतिक शक्तिहरू जिम्मेवार र एकताबद्ध भएर अघि बढ्नुपर्ने उनीहरूको भनाइ छ।
अपिलमा कांग्रेसको आन्तरिक विवादले पार्टीमा मात्र नभई समग्र राष्ट्रिय राजनीतिमा समेत असर परेको उल्लेख गर्दै पार्टीलाई थप विभाजनतर्फ लैजानु राष्ट्र र लोकतन्त्रको हितमा नहुने बताइएको छ।
‘नेपालको हरेक सङ्कटमा एउटा मियो बनेर उभिँदै आएको नेपाली कांग्रेस अहिले आन्तरिक कलहमा रुमल्लिँदा त्यसको असर कांग्रेस पार्टीमा मात्रै सीमित छैन, यसले समग्र राष्ट्रिय राजनीतिलाई समेत सही दिशा दिन कठिन बनाइरहेको छ,’ अपिलमा भनिएको छ।
१५औँ महाधिवेशनको संघारमा विगतका तीता–मिठा अनुभव र विवादलाई पछाडि छाडेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा नेताहरूले जोड दिएका छन्।
उनीहरूले कांग्रेसको सम्पूर्ण नेतृत्व पंक्ति एक ठाउँमा बसेर गहन छलफल गरी साझा निष्कर्षमा पुग्नुपर्ने बताएका छन्। साथै, सबै पक्षले अहंकार, आग्रह र व्यक्तिगत स्वार्थ त्यागेर पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखी निकास खोज्न आग्रह गरेका छन्।
अपिलमा सभापति गगन थापाको भूमिकालाई विशेष महत्व दिँदै दुवै पक्षबाट जारी १५औँ महाधिवेशनको कार्यतालिका स्थगन गरी पार्टी एकताका लागि यथाशीघ्र निर्णायक वार्ता सुरु गर्न विशेष आग्रह गरिएको छ।
कांग्रेसका सबै पक्षलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट विवाद समाधान गरी पार्टीलाई एक ढिक्का बनाउन तथा राष्ट्रिय चुनौती सामना गर्न सक्ने सबल र एकताबद्ध कांग्रेस निर्माणमा जुट्न पनि उनीहरूले अपिल गरेका छन्।