पोखरा बसपार्कका ३२५ भूमिहीन सुकुम्बासी परिवारको अर्काे हप्ता स्थानान्तरण

पोखरा बसपार्कका ३२५ भूमिहीन सुकुम्बासी परिवारको अर्काे हप्ता स्थानान्तरण

पोखरा । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ।

महानगरपालिकाले गरेको दाबी-विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि ३२५ परिवार भूमिहीन र २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका छन्। महानगर प्रमुख धनराज आचार्यका अनुसार अन्तिम विवरणमा १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुमबासी गरी ३२५ परिवार भूमिहीन कायम भएका छन्।

यसअघि भूमिहीन दलितका २००, भूमिहीन सुकुमबासीका २४८ र अव्यवस्थित बसोबासीका ११६ गरी कुल ५६४ निवेदन परेको थियो। दाबी–विरोध तथा छानबिनपछि अन्तिम सूचीमा संख्या परिवर्तन भएको हो।

वडा तहको सहजीकरण समितिले तयार पारेको अन्तिम प्रतिवेदन वडा समितिबाट आवश्यक सिफारिससहित महानगरपालिकामा पठाउने निर्णय भएको छ। अब महानगर कार्यपालिकाले प्रतिवेदनमाथि छलफल गरी जिल्ला समितिमा सिफारिस गर्ने तयारी गरेको छ।

महानगर प्रमुख आचार्यले वास्तविक भूमिहीन, दलित र सुकुमबासी परिवारको पहिचान गरी कानुनअनुसार व्यवस्थापनलाई प्राथमिकता दिइने बताए। प्रक्रिया समयमै अघि बढे अर्को सातादेखि बसपार्क क्षेत्रको बस्ती स्थानान्तरण सुरु गर्ने तयारी रहेको उनको भनाइ छ।

बसोबासीको तर्फबाट भूमिहीन सुकुमबासी सरोकार समितिका संयोजक प्रेम गुरुङले बसपार्क निर्माणमा आफूहरू बाधक नबन्ने तर बस्ती खाली गर्नुअघि वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गरे।

पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि २०३२ सालमा जग्गा अधिग्रहण गरिएको थियो। पाँच दशक बितिसक्दा पनि बसपार्क निर्माण हुन नसकेपछि महानगरले पछिल्लो समय अतिक्रमित जग्गा र व्यापारिक संरचना हटाउने प्रक्रिया अघि बढाएको छ। महानगरपालिकाले जग्गा खाली भएपछि दातृ निकायको सहयोगमा सुविधासम्पन्न बसपार्क निर्माण गर्ने योजना अघि सारेको छ।